सबैको झैं मेरो पनि, लुकेको एक कथा आमा ।
जसो तसो जिए पनि , कुन दोबाटोमा चुकें आमा ।।
सुन्दर हाम्रो सन्सार होस, जहाँ फुलुन सपनाहरू ।
सुखी अनि सन्तुष्ट भई, उडुन मनका भ्रमरहरू ।।
असल एउटा मानव भई, कर्तव्य ति पुरा गरूँ ।।।
यस्तै यस्तै सपनालाई, संगाले थे मैले आमा ।
जसो तसो जिए पनि, कुन दोबाटोमा चुकें आमा ।।
फक्रिने त्यो सपना थियो, सुगन्धित फुल बनी ।
भनुन सबले सन्तान आफ्ना,फलानो झैं बनुन भनी ।।
बालापनमा जे भोगियो, राखेकोछु मनमा गनी ।।।
सोचाई अनि गराईमा, अन्तर कहॉं पर्र्यो आमा ।
जसोतसो जिए पनि, कुन दोबाटोमा चुकें आमा ।।
बाहिर हेर्दा अरू जस्तै, सबै कुरा पूर्ण मेरा ।
वरिपरी आफ्ना अनि, शुभेच्छुकको हुन्छ घेरा ।।
भाग्यमानि छस तँ भन्छन, मेरो जीवन देख्ने सारा ।।।
तर किन शान्त छैन, मन समुन्द्रको पानी आमा ।
जसोतसो जिए पनि, कुन दोबाटोमा चुकें आमा ।।
हिजो वित्यो आज त्यसै, भोली कस्तो हुनें होला ।
आसैआसमा बीत्नेरैछ, यो हाम्रो मानव चोला ।।
यौटा पाए अर्को चाईंने, अविरल यो बग्ने खोला ।।।
सेवागरूँ सवको भन्ने, मनको यौटै प्यास आमा ।
जसोतसो जिए पनि, कुन दोबाटोमा चुकें आमा ।।




