राजनीति

कम्युनिस्टहरूको जुँगाको लडाइँ जुँगामै सीमित रहन्छ

नेपालका कम्युनिस्टहरूले आफ्नो राजनीतिक आन्दोलनको सुरुवात भूमिगत पृष्ठभूमिबाट गरे । गाउँगाउँ, टोल र बस्तीमा लुक्दै र छलिँदै एकैपटक सिंहदरबारको अलिसानमा प्रवेश गरेपछि विगत ब्र्सिदै र जनताको निस्वार्थ सहयोग भुल्दै गए । चाहे झापा आन्दोलनकोे समयमा होस् वा तत्कालीन नेकपा माओवदीले सञ्चालन गरको सशस्त्र द्वन्द्वको समयमा होस्, नांगा खुट्टाले फाल हानेका डोबहरू गाउँघरमा अझै ताजै होलान्, तर तिनै कम्युनिस्ट राजनीति गर्ने राजनीतिज्ञहरूले गाउँले जनताका पीरमार्का र सुख–दुःखका कथाहरू भुलेर राज्यको ढुकुटीमा डुबुल्की मार्न थालेपछि गाउँले जनता र नेकपाको सम्बन्धमा दरार पैदा भयो ।

२०४६ सालदेखि नै गरिबको पार्टी भनेर लिँदै आए, तर सत्तामा पुगेपछि गरिबप्रतिको दृष्टिकोण परिवर्तन गर्दै गए । फुटेका नांगा खुट्टा लिएर मत दिउञ्जेल ती असाध्यै ठूला कमरेड बने भने तिनै खुट्टा लिएर वाम नेताहरूका कोठामा आउँदा अपरिचित गाउँले, फोहोरी पाखे बनेर अपमानित हुँदै फर्किए । यसप्रकारको द्वन्द्वात्मक सम्बन्धले कम्युनिस्ट पार्टीमा कार्यकर्ता हाबी हुने अवस्था आएपछि पटकपटक फुट्ने जोडिन, फुट्ने जोडिने शृंखला चल्दै आयो कहिले माओवादी र एकता केन्द्र मिल्ने, बादलहरू बाहिरिने, माक्र्सवादी र माले मिल्ने वामदेवहरू बाहिरिने क्रम जोडिँदै आयो, अहिलेको तिगडम पनि त्यसैको निरन्तरता हो । यो न सिद्धान्तका लागि हो वा राष्ट्रका लागि हो, यो फुट केवल राज्यको ढुकुटीमा डुबुल्की मार्न मात्र हो, कसैको व्यक्तिगत स्वार्थका लागि उक्साइएका प्रचण्ड र ओलीबीचको जुँगाको लडाइँभन्दा बाहेक केही होइन । २/४ दिन कार्यकर्ताले कानमा तेल हालिदिने हो भने यी आत्मालोचनाको रटान दिएर सँगै सडकमा नाच्न आइपुग्दछन् ।
सिंहदरबारको तरको छाली मार्न पाउन्जेल कसैलाई जनता चाहिएन ।

प्रचण्ड र ओली मिलुञ्जेल यिनीहरूलाई न सहिद चाहियो न जनता चाहियो । आज सडकमा निकै चर्का नाराहरू लाग्ने गरेको सुन्न पाइन्छ । तीन वर्ष अगाडि जब तत्कालीन एमाले र माओवादी केन्द्रको वीचमा एकताको नौटंकी चल्दै थियो, त्यसबेला यो देशमा कम्युनिस्टबाहेक कुनै राजनीतिक दल नै छैन झैं गरेर उफ्रिने दलालहरू आज अन्य राजनीतिक दलहरूको सरेन्डर गर्न तँछाडमछाड गर्दै कुदिरहेका छन् । अरु सबैथोक सहन तयार भए पनि यिनीहरूले सत्ताका लागि जे जस्तो हर्कत गर्न पनि पछि पर्दैनन भन्ने तथ्यको उजागर त विगतमा पनि देएिकै थियो अहिले त्यसको क्रमभंग मात्र भएको हो, त्यसर्थ ओली, माधव, झलनाथ, प्रचण्ड, बादल जे नामले आए पनि यी सबै परीक्षण गरिएका इन्जेक्सन हुन्, जसले बिमारी निको पार्ने होइन, रोग बढाउने हुनाले डम्पिङमा फाल्नुपर्छ अन्यथा सबैमा भाइरस सार्न सक्छन् ।

विगतमा नेकपा एमालेबाट माले फुटेर गएपछि यिनै माधव नेपाल, झलनाथ खनाल र केपी ओलीहरू वाामदेव गौतममाथि जंगली ब्वाँसोझै खनिएकै हुन । वामदेव गौतमहरूमाथि त्यसबेला लगाइएको आरोपअनुरूप काम गरेको भए सायद वामदेव, घनश्याम र योगेशहरू यतिबेला जेलजीवन बिताइरहेका हुन्थे । त्यसकारण अहिले कम्युनिस्टहरू फुटे भनेर कोही कसैले तिघ्रा ठटाएर नाच्नु भन्दा देशलाई निकास दिन लाग्यो भने मुलुकले जित्नेछ ।

आज प्रचण्ड र ओली दुवै कम्युनिस्टहरूले सहिदलाई सम्झेका छन् । प्रचण्ड माधवहरूले सशस्त्र द्वन्द्वका बेपत्ता परिवारहरूको ठूल्ठूलो स्वरले सम्मानको नाटक गरिरहेका छन् । के सहिद र बेपत्ता परिवार भनेको यिनको सत्ताका भर्याङ हुन् ? जसलाई सत्ताबाहिर हुँदा मात्र पुकार्ने ?

यदि होइन भने सत्तामा छँदा के कति बेपत्ता परिवार र सहिदको नाम लिए यिनले के कस्ता लोकप्रिय काम गरे बेपत्ता र सहिदहरूका लागि भनेर सम्बन्धित परिवारले खोज्न ढिला गर्नु हुँदैन । सहिदका नाममा सपथ खाने सहिदकै नाममा राजनीति गर्ने अनि तिनै सहिदको बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्न नसक्ने हुतिहाराहरूले सहिदको नाममा ठूल्ठूलो स्वरले चिच्याउनुको कुनै तुक रहँदैन । विगतमा सत्ताभित्र छउन्जेल बेपत्ता र सहिद परिवार कहाँ छन्, उनीहरूको अवस्था के छ सहिदका छोराछोरीको शिक्षा, स्वास्थ्य पोषणका मुद्दामा कसले कुन ठाउँबाट आवाज उठाए त्यसको अभिलेख कोसँग छ दिन सक्छन् यिनले त्यसको एकिन सूचना ? पक्कै दिँदैनन किनकि यिनीहरूले सहिदका लागि राजनीति सहिदको सपना पूरा गर्नेतर्फ होइन परिवारको सपना पूरा गर्ने तर्फमात्र केन्द्रित छ ।

विगतमा एमाले र माओवादी एकीकरण हुँदाका बखत प्रचण्डलाई भगवान देख्ने केपी ओली र केपी ओलीलाई भगवान देख्ने प्रचण्ड आज एकअर्काको छायाँ देख्न नहुने अवस्थामा पुगेका छन् । अहिले यदि ओलीले प्रधानमन्त्री छाडेर प्रचण्डलाई अघि सारेको भए प्रचण्डले माधव, झलनाथ गोली मार भन्थे । अहिलेको उनीहरूको रोइलो भनेको केवल सत्तालिप्साको मात्रै हो न त्यहाँ कुनै वाद जोडिन्छ न फरक दृष्टिकोण । यो कुनै अस्तित्वको लडाइँ होइन यो लडाइँ भनेको विशुद्ध सत्तालिप्सासँग जोडिएको हुनाले कसैलाई बोकेर हिँड्ने वा कसैलाई हुर्मत काड्ने गतिविधिलाई प्रोत्साहन गर्नु बेकार छ । यहाँ प्रचण्ड आएर नयाँपनको विकास हुने वा ओली निरन्तर हुँदा सबै सत्यनाश हुने अवस्था पटक्कै देखिँदैन, किनभने यी दुईलाई नेपाली जनताले थेगिसकेका छन् । यी जो आए पनि उही जहानिया शासनको पादुर्भाव हुने हो । समावेशी शासन व्यवस्थाका नाममा अन्तर्जातीय विवाह गरेका आफ्नै कार्यकर्ताका श्रीमान् श्रीमतीलाई राज्यव्यवस्थामा समावेश गरेर समानुपातिक र समावेशी शासन पद्धतिको धज्जी उडाउने काममा दुवै अग्रपंक्तिमा देखिएकै हुन् । जनता र कार्यकर्ता भनेका एउटाले अर्कोलाई लात हानेर भित्तामा टसाएपछि नारा जुलुश भट्याउने र सडक तताउने अस्त्रमात्र हुन् ।

कम्युनिष्टहरूले कांग्रेसमाथिको दृष्टिकोंण परिवर्तन गर्दैनन्, कांग्रेस बेलैमा सजग हुनु जरुरी छ । अहिले कांग्रेस नेकपाको फुटसँगै विभाजित भएका समाचारहरू पनि बाहिरिरहेका छन् । यदि ती समाचारहरूमा सत्यता छ भने कांग्रेसले अलिकति बचेको स्वाभिमान पनि गुमाउँदैछ ।

एमालेको सहकार्यमा विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्व कांग्रेसले गर्यो जब उपलब्धि उन्मुख पुग्यो, त्यही एमाले गोमन सर्प जस्तो कांग्रेसमाथि नै फणा फैलाएर आक्रमणमा उभियो । हिजो माधव नेपाललाई प्रधानमन्त्री बनाउन स्व.गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिका लत्याउँदै कांग्रेसमाथि नै जाइलागेको उदाहरण इमान्दार कार्यकर्ताले बिर्सिएका छैनन् । इतिहासदेखि नै ताक परे तिवारी नत्र गोतामेको भूमिकामा रहने स्कुलिङबाट प्रशिक्षित कम्युनिस्टहरूको ललीपपमा परेर ओली र प्रचण्डमा विभाजित भयो भने कांग्रेसका नेताहरूले आफ्नो दुर्दशा सुरु भएको बुझे हुन्छ । प्रचण्डलाई खाने बाघले शेरबहादुरलाई छोड्ला वा ओलीलाई खाने बाघले रामचन्द्रलाई छोड्ला भन्ने कुरा कल्पना बाहिर छ । भोलि आत्मालोचनाले उनीहरू मिलिहाल्छन् अनि कमरेडहरूको गला बहुत कमलो हुछ गला मिलाउँछन् र कांग्रेसमाथि खनिन्छन्, त्यसबेला समय खटकिसकेको हुन्छ, त्यसतर्र्फ कांगे्रस सजग हुनु जरुरी छ ।

अन्त्यमा, अहिले देशका सडकहरूमा वाम नेताहरूको बीचमा जे जस्ता वाकयुद्ध देखिएको छ, त्यो कम्युनिस्ट संस्कार हो । एउटा नेपाली कहावत छ ६ जटा हात्ती जुधे पनि धर्तीलाई बोझ र मिले भने पनि धर्तीलाई बोझ । वर्तमान सन्दर्भमा उक्त कहावत देशको राजनीतिक विश्लेषणमा सान्दर्भिक देखिन्छ । विगतमा यिनीहरू मिल्दा पनि देशलाई निकास हुने गरी कुनै काम गरेनन् । कोरोनाले देश थङथिलो भएको बेलामा देशमा अविभावक भएको आवास गराउन सकेनन् । देश भ्रष्टाचारमा लिप्त भएर छरपष्ट हुँदा चुइँक्क आवाज निकाल्न नसक्ने प्रचण्ड र माधवहरू आफू भित्तामा पुगेर मात्र भ्रष्टाचार देख्न सक्ने भए । सारा किसानहरूले मल, मल भनेर चिच्याइरहँदा नसुन्ने सरकारले मंसिरमा पनि मल उपलब्ध गराउन सकेन ।

काठमाडौमा बन्धक नागरिकहरूले घर पठाइदेऊ न भनेर पटक पटक अनुरोध गर्दा नसुन्ने सरकार र त्यही सरकारको नेतृत्व गर्ने पार्टीका नेताहरू अहिले बसका बस मान्छ उतार्न सक्नेरछन्, सडकमा चर्काचर्का कुरा गरेर जनतालाई भुलाउन सक्ने रछन् । सरकारबाट बाहिरिएपछि सरकारमाथि टिप्पणी गर्दारछन् । आखिर हिजो किन गरेनन् भन्ने प्रश्नको उत्तर आन्दोलनबाट आए कति राम्रो हुन्थ्यो, तर आउँदैन । किनभने अहिलेको सडक त्यस्ता प्रश्नको उत्तर खोज्नका लागि भएकै होइन, यो केवल जुँगाको लडाईं हो, जुँगामै सीमित रहन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *