मुख्य समाचार

स्थिरता र समृद्धिको नारा दिने नेकपाबाटै जनतमाथि धोका : नेता साउद

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले सत्तारुढ नेकपाले जनतालाई धोका दिएको बताएका छन् । स्थिरता र समृद्धिको नारा दिएर दुई तिहाइ नजिकको सिट जितेको नेकपाले जनतालाई ठूलो धोका दिएको बताउँदै त्यसको मूल्य चुकाउन तयार रहन चेतावनी दिएका छन् ।

सर्लाही कांग्रेसले बिहीबार हरिवनमा राखेको अगुवा कार्यकर्ता भेटघाटमा नेता साउदले प्रतिनिधसभा विघटन नेकपाको आन्तरिक विवादका कारणले भएको स्पष्ट पारे । ‘सत्ता लिप्सा, अहंकार, घमण्डले उन्माद ओली र सत्ता, शक्ति र स्वार्थभन्दा बाहिर टिक्न नसक्ने प्रचण्ड प्रवृत्तिका कारण प्रतिनिधिसभा विघटन हुन पुगेको हो,’ साउदले भने ।

नेकपामा विगत एक वर्षयता मुलुकको विकास, गरिबी निवारण, भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रणका विषयमा छलफल हुन नसकेको भन्दै उनले सधैं सत्ता र शक्तिको भागबन्डामै केन्द्रित रहेर समय गुजारेको बताए ।

प्रधानमन्त्री केपी ओली निर्वाचन गराउन सक्षम र इमान्दार नभएको पनि साउदले बताए । निर्वाचन आयोग र सुरक्षा निकाय एकै चरणमा निर्वाचन गराउन तयार भए पनि प्रधान्मन्त्री ओलीले दुई चरणमा चुनाव घोषणा गर्नु अर्थपूर्ण रहेको नेता साउदको भनाइ थियो ।

प्रधानमन्त्री ओलीलाई अधिनायकवादको सपना नदेख्न पनि नेता साउदले सुझाए । ‘एक सय चार वर्षे राणा शासन, दुई सय ३८ वर्षे राजतन्त्र र ३० वर्षे पञ्चायतलाई ठेगान लगाएको कांग्रेससँग नजिस्किन चेतावनी दिन चाहन्छु,’ उनले भने, ‘ओलीले फुच्चे तानाशाह बन्ने दिवा सपना देखेका छन् भने त्यो प्रत्युत्पादक हुन्छ ।’

संसद्मा कांग्रेस कमजोर भएका कारण घनीभूत छलफल गरेर रणनीति बनाउनु आवश्यक रहेको साउदले औंल्याए । ओली–प्रचण्डमध्ये एकलाई कांग्रेसले साथ दिनु घातक हुने उनको भनाइ थियो । नेकपा दुई फ्याक भए पनि कांग्रेसबाहेक सरकार बन्ने अवस्था रहेको उनले बताए । ‘कांग्रेसले उपयुक्त रणनीति बनाएन भने सत्तामा पनि नेकपा र प्रतिपक्षमा पनि नेकपा नै हुने अवस्था आउन सक्छ । तसर्थ कांग्रेसले मुलुकको हितलाई केन्द्रविन्दुमा राखेर निर्णय गर्नुपर्छ । ओली प्रचण्डको अहिलेको शक्ति प्रदर्शन चुनावको तयारी हुन सक्छ,’ नेता साउदले भने, ‘कांग्रेस जुनसुकै अवस्थाका लागि तयार रहनुपर्छ ।’

प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको, संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालतले गरेको फैसाल मान्ने र संसद् पुनस्र्थापना भए पनि र चुनाव भए पनि नेपाली कांग्रेसलाई बाहेक गरेर नेपालको राजनीति अघि बढ्न नसक्ने कुरामा आफूहरू प्रस्ट रहेको साउदले बताए । ‘नेपाली कांग्रेसले संसद् पुनस्र्थापना हुनुपर्छ भनेर औपचारिक रूपमा निर्णय गरेको छैन र अदालतको फैसला स्वीकार्ने कुरामा पनि कुनै दुई मत छैन,’ साउदले भने, ‘चुनावबाट पनि भाग्दैनौं, संसद पुनस्र्थापना भए संसद्मा प्रभावकारी भूमिका खेल्छौ ।’

संविधान कार्यान्वयनका लागि आफू हार्ने थाहा पाउँदा पाउँदै पनि पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन गराएको उनले स्पष्ट पारे । ‘आफू हार्दा पनि निर्वाचन गराउने कांग्रेस अहिले जित्ने चुनावमा जान हिचकिचाउँदैन,’ नेता साउदले भने । प्रदेश नम्बर २ मा कांग्रेसको अवस्था सुदृढ भए मात्र नेपाली कांग्रेसले दुई तिहाइ ल्याउने बताए । ‘मधेसका मुद्दा नेपाली कांग्रेसले मात्र सम्बोधन गर्ने भएकाले कांग्रेस नै मधेसवादी दल हो,’ नेता साउदले भने, ‘क्षेत्रीय दल मधेसवादी होइन । मधेसको विकास र पहिचानको सम्मान कांग्रेसबाट मात्र सम्भव छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *