रिबन

के प्रदेश १ मा कांग्रेस नेतृत्वमा सरकार बन्दैछ ? भीम आचार्यले खुलाए रहस्य

काठमाडौं । नेपाली कांग्रेसमा अहिले प्रतिनिधिसभा पुनःस्थापनाका लागि सडक आन्दोलनमा जाने कि वैशाखमा तोकिएको आमनिर्वाचनमा सहभागी हुने भन्ने बहस तीव्र रूपमा चलिरहेको छ । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेसँगै प्रदेश सरकार पनि संकटमा परेपछि कांग्रेसले एकैचोटि दुईवटा ठूला निर्णय लिनुपर्ने अवस्था आएको छ ।

सडक आन्दोलन कि प्रदेश सरकार आफ्नो नेतृत्वमा बनाउने ? भन्ने निर्णय गर्न भने कांग्रेसले गर्न सकेको छैन । सभापति शेरबहादुर देउवा जसले बढी भाग दिन्छ त्यसलाई लिएर सरकार बनाउनुपर्ने पक्षमा देखिन्छन् भने इतर पक्ष अहिले प्रदेश सरकार बनाउने भन्ने निर्णय गरिहाल्न नहुने अडानमा छ । सोही कारण कांग्रेस अनिर्णीत बनेको छ ।

यही अवस्थामा नेकपा (बहुमत पक्ष) ले कांग्रेससँग सहकार्य गरी प्रदेश १ मा सरकार बनाउन सकिने प्रस्ताव गरेको छ । यो प्रस्ताव प्रचण्ड–माधव नेपाल पक्षबाट प्रदेश १ मा मुख्यमन्त्रीमा प्रस्तावित गरिएका भीम आचार्यले खोलेका हुन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा पनि उनले कांग्रेसले मुख्यमन्त्री लिएर सरकार बनाउने अवस्था भए आफूहरू सहकार्य रहने जानकारी दिए ।

आचार्यले बिहीबार रेडियो काठमाडौंसँगको कुराकानीका क्रममा पनि सो तथ्य खोलेका छन् । उनले प्रदेश १ सरकार गिराउने कुरामा नेपाली कांग्रेससँग सहकार्य गर्न तयार रहेको कुरा बताएका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । ‘कांग्रेसका साथीहरुसँग हाम्रो कुराकानी भइरहेको छ । सरकार गिराउने कुरामा कांग्रेससँग सहकार्य हुन्छ । कांग्रेसले सहमति जनाए सरकार बनाउन पनि सहकार्य गर्छौं,’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *