काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो समय सबैतिरको चासो र निसानामा परेका छन् । प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत प्रतिनिधिसभा भंग गरेर स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गर्न थालेपछि देशको एक मात्र ठूलो लोकतन्त्रवादी पार्टीको सभापति र चारपटकसम्म प्रधानमन्त्री बनेका देउवामाथि सबैले चासो राखेका हुन् ।
आफ्नै पार्टी कांग्रेस, मिडियो, सामाजिक सञ्जाल, बुद्धिजीवी वर्ग सबैले देउवाले प्रधानमन्त्री ओलीप्रति सफ्ट कर्नर राखेको आशंका र विश्लेषण गरिरहेका छन् । तर, चारैतिरबाट भइरहेको आफूमाथिको प्रहारलाई लिएर देउवा हतप्रभ भने देखिएका छैनन् । उनले पार्टीभित्र बारम्बार ओलीको कदम संविधानअनुसार गलत रहेको भन्दै विरोध जनाउँदै आएका छन् ।
पार्टीको बैठक बोलाएर ओलीको कदमबारे छलफल गराएका छन् । बुद्धिजीवी, कानुन व्यवसायी, पत्रकार जगतसँग पनि उनले सघन छलफल गरिरहेको बताइन्छ । सोही कारण पछिल्लो समय देउवाले आफू निकटस्थ नेताहरूसँग देशको भावी राजनीतिबारे चिन्ता व्यक्त गरेका छन् ।
बुढानिलकण्ठ स्रोतका अनुसार केही दिनअघि देउवासँग कांग्रेसका युवा नेताहरू छलफल गर्न भेला भएका थिए । आफ्ना अतिनिकटस्थ नेताहरूसँग देउवाले ओलीले वैशाखमा मात्र होइन, मंसिरमा पनि निर्वाचन नगराउने बताएका थिए ।
उनले सडक आन्दोलनलाई अर्को शक्तिको हातमा नियन्त्रणमा जान नदिन कांग्रेसले नेतृत्व गर्ने पनि बताएका थिए । सडक आन्दोलन अर्को शक्तिको हातमा गएमा ओली मात्रै होइन, संविधान र व्यवस्था एकैपटक फालिने उनको भनाइ थियो । आन्दोलन गर्दा कांग्रेसजस्तो पार्टीले धेरै विषयमा विचार पुर्याउनुपर्ने भन्दै ओलीले आफूले सुरुदेखि नै ओलीको कदमको विरोध गर्दै आएका बताएका थिए ।
ओलीले घोषणा गरेको निर्वाचन संविधानलाई मास्ने र लोकतन्त्रको विधि र प्रक्रियामाथि प्रहार गरेर आएको उनको निष्कर्ष छ । नेपाली कांग्रेस जस्तो पार्टीले संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई मूल्य चुकाएर आफूलाई फाइदा हुन्छ भनेर जाँदा भोलि आफूलाई बेफाइदा हुने त्यस्तै आक्रमण भयो भने फेरि सडकमा निस्किँदा कुन नैतिकता र साहसले निस्किने भन्ने गम्भीर प्रश्न उठ्ने उनको चिन्ता थियो ।




