आजका पत्रपत्रिकाहरुमा बुधबारबाट सुरु भएको कोरोनाविरुद्धको खोपअभियानको विषयले तस्वीरसहित पहिलो पृष्ठमा स्थान पाएका छन् ।त्यस्तै अन्य राजनितिक र सामाजिक विषयले पनि प्राथमिकता पाएका छन् ।
नागरिक दैनिकले कोरोनाविरुद्ध खोप अभियानः सरकार गम्भीर नहुँदा चुनौती शिर्षकमा मुख्य खबर छापेको छ । चीनको वुहानबाट फर्केका एक नेपालीमा गत वर्ष माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसको एक वर्ष ५ दिनपछि बुधबार कोभिड–१९ विरुद्ध खोप लगाउन थालिएको छ ।
१४ वर्षमुनिका बालबालिकाबाहेक सबै नेपालीलाई २ वर्षमा कोरोना खोप उपलब्ध गराउने भनेर स्वास्थ्य मन्त्रालयले यसअघि बताउँदै आएकोमा प्रधानमन्त्री ओलीले तीन महिनाभित्रै सबै नेपालीलाई खोप उपलब्ध गराउने आश्वासन दिए ।
प्रधानमन्त्रीले आश्वासन दिए पनि विज्ञ भने नेपालले यथाशीघ्र खोप प्राप्त गर्न गम्भीर गृहकार्य गर्न नसकेको बताउँछन् ।
अन्नपूर्ण पोस्ट्ले जुम्लाको तिला गाउँपालिकाको एक गाउँमा लागेको आगोबाट सिंगो गाउँ नै सखाप भएको तस्वीरसहित प्रकाशन गरेको छ । सो आगलागीबाट २५ घर जलेर नष्ट भएका थिए ।
त्यस्तै नेकपा नेता बामदेव गौतमले पार्टी एकता गर्न गरेको पहलबारेपनि पहिलो पेजमा समाचार छ ।
‘मिलाउने तागत मसँग छ’ शिर्षकमा अन्नपूर्ण पोस्ट् लेख्छ, नेकपा विभाजनमा कतै नलागेका नेता वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन्। गौतमले दुई समूहमा बाँडिएका केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ‘मिलाउने’ तागत आफूसँग रहेको दाबी गरेका छन्। १३ वर्षदेखि पार्टी एकताका लागि आफूले पहल गरे पनि विभाजन हुन तीन वर्ष पनि नलागेको भन्दै उनले दुखेसोसमेत गरेका छन्।
भियान घोषणा कार्यक्रममा भने, ‘प्रतिनिधिसभा पुनःस्थापना भइदिए हुन्थ्यो भन्ने छ। प्रतिनिधिसभा पुनःस्थापना भयो भने हामीलाई दुई वर्ष समय प्राप्त हुन्छ। त्यो दुई वर्षमा दुवै समूहलाई म ल्याउँछु। केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्नथ्यो। म हुँदा प्रचण्डजी एकताको पक्षमा हो। अहिले उहाँहरू दुईतिर फर्कनु भएको छ। म जान्छु र केपी ओलीलाई प्रचण्डतिर फर्काइदिन्छु, प्रचण्डलाई केपी ओलीतिर फर्काइदिन्छु। त्यो तागत मसँग छ।’
कान्तिपुरले अदालतमा पेश भएका अवहेलना मुद्धाबारे कलम चलाएको छ । सर्वोच्चले २० दिन अघिको अभिव्यक्तिलाई दिएर सरकारलाई सहयोग पुग्ने गरी दुई अवहेलना मुद्धा दर्ता गरेको छ । चार पूर्वप्रधानन्यायाधीशको २० दिनअघिको वक्तव्यलाई लिएर पेस भएको ‘अदालतको अवहेलना’ निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ । अधिवक्ताहरु धनजित बस्नेत र लोचन भट्टराईका दुई छुट्टाछुट्टै निवेदन सर्वोच्च अदालतले बुधबार दर्ता गरेको हो ।
प्रारम्भिक दृष्टिमा अवहेलना स्थापित नहुने निवेदनलाई अस्वीकार गर्ने नीति लिएको सर्वोच्चले बुधबार भने सरकारलाई बल पुग्ने गरी निवेदन स्वीकार गरेको हो ।
दुई दिन ‘होल्ड’ मा राखेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धका दुई निवेदन दार्ता गरेको सर्वोच्चले त्यसको प्रतिवादमा आएका अरु छुट्टै अवहेलनाका निवेदन पनि दर्ता गरेको हो ।




