रिबन

वामदेव गौतमको तेस्रो पार्टी जन्माउने प्रयास, आएनन् ओली र प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले तेस्रो पार्टी गठन गर्ने प्रयास गरेका छन् । औपचारिक रूपमा विभाजन भएको नेकपालाई जोड्न भन्दै उनले बुधबारदेखि ‘पार्टी एकता राष्ट्रिय अभियान’सुरु गरेका छन्।

ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा विशेष भेला आयोजना गर्दै गौतमले एकता अभियानको उद्घाटन गरेका हुन्। उनले एकता अभियानमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पनि आमन्त्रण गरेका थिए । तर, कोही पनि आइदिएनन् । वामदेवले तेस्रो पार्टी गठन गर्न खोजेको भन्दै ओली र प्रचण्ड समूहले बहिष्कार गरेपछि उनको अभियानमा धक्का लागेको छ ।

निर्वाचन आयोगले समेत नेकपा एकढिक्का नै रहेको, विभाजन स्वीकार्य नभएको निर्णय गरिसकेको अवस्थामा वामदेवको कार्यक्रमप्रति धेरैको चासो देखिएको थियो । तर, आज आयोजित कार्यक्रममा कसैले पनि चासो नदेखिएपछि वामदेवसामु अब कि नयाँ पार्टी खोल्ने कि ओली र प्रचण्ड समूहको कुनै एक नेकपामा जानेबाहेक अरु विकल्प नभएको बताउन थालिएको छ ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भए पनि गौतम कुनै समूहमा नलागी आफ्नै नेतृत्वमा ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेका हुन्।

वामदेवको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य हरि पराजुली, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, पूर्व सांसद माया ज्ञवाली, बागमती प्रदेश सभा सदस्य विनोद खड्का सहभागी छन्। यस्तै, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति प्रा.डा. हीराबहादुर महर्जन, केही समय अगाडि वामदेवको नाम लिएर प्रहरीमा जागिर लगाइदिन्छु भन्दै घुस लिएर पक्राउ परेका पूर्वसांसद डीबी कार्की पनि भेलामा उपस्थित थिए ।

कार्यक्रममा सहभागीलाई पार्टी एकता राष्ट्रिय अभियान अवधारणापत्र हस्तान्तरण गरिएको छ। गौतम संयोजक रहेको अभियान ६ सय ५१ सदस्यीय तथा कार्य सम्पादन समिति १ सय ७५ सदस्यीय छ। समितिमा नेकपाका केस हरि पराजुली, गौतम पत्नी सांसद तुलसा थापा, माया ज्ञवाली, त्रिविविका पुर्व उपकुलपति हिरालाल महर्जनलगायत छन्।

कार्यक्रममा वामदेवले आफू पार्टी एकीकरण गराउनेमध्येको नेता रहेको उल्लेख गर्दै उनले अहिले पनि एकताको पक्षमा आफू उभिएको बताए। त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म पार्टी एकीकरण गराउन आफू लागिपर्ने गौतमले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *