काठमाडौं । नेकपाका एकताको पक्षमा रहेका उपाध्यक्ष वामदेव गौतमले आज एकता राष्ट्रिय अभियानको घोषणा गर्दै छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय अभियानको घोषणा गर्ने भएका हुन् ।
गौतमले आजै आफूले लेखेका दुईवटा पुस्तकको विमोचन पनि गर्ने र एकता राष्ट्रिय अभियानको घोषणासमेत गर्ने गरी तयारी गरेको गौतम निकट एक नेताले जानकारी दिए ।
उनले अहिले आफू कतै नलाग्ने भन्दै दुवै खेमालाई एकताको अपिल गरिरहेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले संसद् विघटन र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविश्वास प्रस्ताव दर्ताको प्रयास गरेपछि सत्तासीन दल नेकपा दुई खेमामा विभाजन भएको छ ।
ओली र प्रचण्डले आ–आफनो समूह आधिकारिक भएको भन्दै निर्वाचन आयोग, सर्वोच्च अदालतदेखि वडास्तरसम्मै नेता–कार्यकर्तालाई धुव्रिकृत बनाउने गरी अगाडि बढिरहेका बेला गौतमले तीन साता अगाडिमात्रै वक्तब्य जारी गरेरै एकताको अपिल गरेका थिए । पार्टी एकताका लागि जुलुस सञ्चालन गर्न र एकताको सन्देश दिने गरी पोष्टर छापेर बाँड्न गौतमले यस अगाडि अपिल गरेका थिए ।
‘एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस्, एकताको सन्देश दिने पर्चा पोष्टर छापेर बाँड्नुहोस् । यसो गर्नुभयो भने प्रिय कमरेडहरु हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरुलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनः एकीकरण गर्न सकिनेछ,’ गौतमले त्यसबेला जारी गरेको वक्तब्यमा भनिएको थियो । उनले आफ्नो समूहमा रहेका कतिपय नेता नवौं महाधिवशेनबाटै केपी ओलीतिर आफूलाई छोडेर लागिसकेको र कतिपय नेताहरु अहिले उनीभन्दा अगाडि नै प्रचण्ड नेपाल समूहमा लागिसकेका कारण उनी अहिले एक्लो जस्तै देखिएका थिए ।
पार्टीका शीर्ष नेताहरुका कारण पार्टी विभाजनको अवस्थामा पुगेपनि कार्यकर्ताको तहमा एकताको भावना अझै रहेकोले उनले त्यसैलाई समातेर आफूले पुनः नयाँ रुपमा गुट ब्यूँताउने योजनाका साथ यो अभियान चलाउन लागेको पनि बताइएको छ । अहिले गौतमलाई उनको टिमका हरि पराजुलीले मात्र साथ दिइरहेका छन् ।
बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली अन्तरगत कम्युनिष्ट पार्टीले निर्वाचनबाट दुइतिहाइ नजिकको बहुमत प्राप्त लोकतान्त्रिक सरकार गठन गर्न सक्नु, सरकारले एउटा कार्यकाल पूरा नहुँदै र पार्टी एकीकरणको तीन वर्ष पनि व्यतित नहुँदै नेकपा विभाजनबाट क्षतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुःखद र पीडादायी भएको भन्दै गौतमले पुनः नेकपा एकता गर्ने गरी आफू जुटेको बताएका छन् ।
पार्टीभित्रका दुवै खेमाको कदमलाई सुक्ष्मतहले विश्लेषण गर्दै पार्टीको एकता जोगाउन वा पुनः एकिकरण गर्ने उद्देश्य लिएर आफूले दुबै समूहलाई समर्थन नगरी नेकपा एकता राष्ट्रिय अभियानको संयोजक बनेर अगाडि आएको गौतमले बताएका छन् । उनले विभाजन रोक्न नसके नेपाली जनताले कहिल्यै माफी नदिने पनि बताएका छन् ।
उनले भनेका छन्, ‘यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदी पुनः एकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी दिने छैनन् ।’
गौतमले पार्टीका नेता कार्यकर्तालाई जो जहाँ जुन अवस्थामा रहे पनि नेकपा एकता अभियानको नाममा संगठन खडा गर्न र विभाजनमा ढल्केकाहरुलाई सम्झाउन आग्रह गरेका छन् । उनले पार्टीका कुनै समूहका नेता कार्यकर्तालाई गालीगलौजको शैलीमा विरोध नगर्न आग्रह गदै अगाडि भनेका छन्, ‘घरमा आउने कमरेडहरुलाई आफूसक्दो सहयोग गर्नुहोस् । सबैलाई सम्मान गर्ने कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउनुहोस् ।’
प्रधानमन्त्री ओलीलाई समेत उनले पार्टी अध्यक्ष आफूलाई छोडन आग्रह गरेका छन् । उनले अध्यक्ष दिएमा ओली समूहतिर लाग्ने गरी बार्गेनिङ गरिरहेको आरोप पनि लागेको छ ।




