राजनीति

प्रधानमन्त्री ओलीविरुद्ध अदालत अवहेलनासम्बन्धी दुईवटा मुद्दा दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना दुईवटा मुद्दा दर्ता भएको छ । मंगलबार सर्वोच्च अदालत प्रशासनले ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी दुईवटा मुद्दा दर्ता गरेको हो । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका हुन् ।

प्रधानमन्त्री ओलीले माघ ९ गते काठमाडौंको एक ब्याङ्केटमा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस गरेको विषयमा निन्दायुक्त टिप्पणी गरेको उनीहरुको जिकिर छ । त्यतिबेला प्रधानमन्त्रीले ‘एक जना बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएछन्’ भन्ने टिप्पणी गरेका थिए ।

वरिष्ठ अधिवक्ता आचार्यले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने निन्दायुक्त शब्द प्रयोग गरेर प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय माग गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *