रिबन

बृहस्पति अस्तका बेला प्रधानमन्त्री ओलीले पशुपतिनाथमा किन गरे पूजाआजा ?

काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री केपी ओलीमा धार्मिक मोह बढ्दै गएको छ । जीवनभरि माक्र्सवादी दर्शन पढेर कम्युनिस्ट राजनीति गरेका ओलीमा यतिबेला राजा–महाराजाको गुणगान र प्रशस्ति गाउने प्रवृत्ति देखिएको छ । नेपालमा राजतन्त्र नभएर हो वा उनले आफैंलाई राजा महाराजा ठान्न थालेका हुन् ? त्यो भने दावाका साथ कसैले भन्न सक्दैन । तर, उनमा जीवनको उत्तराद्र्धमा धार्मिक भावना बढेको उनी निकट नेताहरू नै बताउने गर्छन् ।

नेपालका प्रधानमन्त्रीहरूले पशुपतिनाथ मन्दिरमा पूजाआजा गरेको समाचार विरलै आउने गर्छ । त्यसमा पनि गणतन्त्र आएपछि कुनै प्रधानमन्त्री पनि पशुपतिनाथ मन्दिर परिसर पुगेका थिएनन् । तर, सोमबार बिहान प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यका साथ पशुपतिनाथ मन्दिर पुगे । एक घन्टा विशेष पूजा गरे । एक लाख दीप प्रज्ज्वलन गरे ।

कम्युनिस्ट प्रधानमन्त्री ओली पशुपतिनाथ मन्दिर पुग्नु र विशेष पूजाआजा गर्नु आफैंमा आश्चर्यजनक विषय हो । हिन्दुधर्मका अभियान्ताहरू ओलीको यो कदमको स्वागत गरिरहेका छन् । नेपाली कांग्रेसका नेता एवं हिन्दु राष्ट्र पुनःस्थापनाका अगुवा लक्ष्मण घिमिरे फेसबुकमा लेख्छन्, ‘केपी ओलीज्यूले पशुपतिनाथ मन्दिरमा प्रवेश गरेर दर्शन पूजा गरेको सायद यो पहिलो पटक होला ! जीवनको उत्तरार्धमा भए पनि यो शुभकार्य गर्नु भएकोमा कम्रेड केपी ओलीजीमा साधुवाद । भगवान पशुपतिनाथले सद्बुद्धि प्रदान गरून् ।’

राजावादी नेता दीपक ज्ञवाली त्यसको प्रत्युत्तर यसरी दिन्छन्, ‘भगवानले १४ वर्षको जेल बसाईमा पनि नदिएको सद्बुद्धि अहिले आएर प्रदान गरेको हुनाले पशुपति मन्दिर गएका होलान् भन्नुपर्ला।’

तर, ज्योतिष सुनिल सिटौला भने फरक ढंगले प्रस्तुत भए । उनी बृहस्पति अस्त भएका बेला पूजाआजा गर्दा त्यसको फल नमिल्ने बताउँछन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बृहस्‍पति अस्त भा बेलामा प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्वलन भयो। अब के साँच्चै प्रधानमन्त्री ओलीले पूजाको फल पाउँछ्न त ! मुहुर्त ज्योतिषले बृहस्‍पति अस्त भा बेलामा गरिएका कर्महरुले फल प्रदान गर्दैन भनेर भनेको हुन्छ।’

माघ ४ गतेदेखि वैशाख ४ गतेसम्म बृहस्पति अस्त भएको ज्योतिषहरूको भनाइ छ । यो चार महिनासम्म धार्मिक अनुष्ठान, पूजाआजा, दानदक्षिणा गर्दा फल प्राप्त नहुने धार्मिक मान्यता छ । यस्तो जान्दा जान्दै प्रधानमन्त्री ओली पशुपतिनाथ मन्दिर पुगेर पूजाअर्चना गर्नुले धेरैमा जिज्ञासा बढेको देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *