रिबन

शशांक कोइराला निवासमा पौडेल समूहको बैठक

काठमाडौं । कांग्रेसमा प्रतिनिधिसभा पुनःस्थापना कि निर्वाचन भन्ने विवाद अझै जारी छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेर निर्वाचनको मिति तोकेपछि कसरी अघि बढ्ने भन्ने विषयमा दुईथरी मत देखिएको हो ।

यही विवादका कारण कांग्रेसले औपचारिक रूपमा कुनै निर्णय गरेको छैन । तर, प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्दै सडक आन्दोलन गरेको छ । तर, अब कसरी अघि बढ्ने भन्नेमा मैतक्य छ ।

संसद पुनःस्थापनाका लागि सडक आन्दोलन चर्काउनुपर्ने पक्षमा रहेको नेपाली कांग्रेसको पौडेल समूहको बैठक आज बस्दैछ । मंगलबारको केन्द्रीय समिति बैठकमा राख्ने धारणाबारे छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक महामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बस्न लागेको हो ।

बैठकमा संसद विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा, प्रदेशसभामा पेश भएका अविश्वास प्रस्तावबारे धारणा निर्माण तथा पार्टीको आसन्न महाधिवेशनका विषयमा छलफल हुने जनाइएको छ ।

वरिष्ठ नेता पौडेल प्रदेशसभामा पेश भएका अविश्वास प्रस्तावको समर्थनमा कांग्रेसले मतदान गर्नुपर्ने पक्षमा छन् । सभापति शेरबहादुर देउवा भने प्रदेश संसदीय दललाई नै निर्णयको अधिकार दिनुपर्ने पक्षमा छन् । संसद विघटनविरुद्ध दुई चरणको आन्दोलन सकिएकोले अब अदालतको निर्णय कुर्नपर्ने संस्थापन पक्षको धारणा छ । पौडेल पक्षले भने मंगलबारकै केन्द्रीय समिति बैठकबाट तेस्रो चरणको आन्दोलन घोषणा गराउन दवाव दिने तयारीमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *