रिबन

निर्वाचन आयोगले नेकपा विभाजनको मान्यता नदिए पनि ओली समूहले माघ २३ गते आमसभा गरेरै छाड्ने

काठमाडौं । निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिन अस्वीकार गरेको छ । उसले कानुनी रूपमा नेकपा एउटै भएको भन्दै आयोगमा पेस भएका विवरणलाई मान्यता दिन नसकिने जनाएको हो ।

आयोगको यो निर्णयसँगै प्रधानमन्त्री केपी ओली पक्ष खुसीले उफ्रिएको छ । तर, माधव नेपाल प्रचण्ड समूह भने आक्रोशित भएको छ । उसले निर्वाचन आयोगको पत्र आएपछि मात्रै औपचारिक प्रतिक्रिया दिने जनाएको छ ।

तर, निर्वाचन आयोगले नेकपा एउटै भएको निर्णय गरे पनि ओली नेतृत्वको नेकपाले भने माघ २३ गते काठमाडौंमा विरोध सभा गरेरै छाड्ने भएको छ । ओली समूहले पहिलेको नेकपा केन्द्रीय समिति विस्तार गर्दै १५ सय सदस्यीय बनाएको छ ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा नेकपा प्रचण्ड–माधव समूहले माघ ९ गते काठमाडौंमा बृहत् प्रदर्शन गरेको थियो । सो विरोध सभालाई काउन्टर दिन प्रधानमन्त्री ओलीले माघ २३ गते ‘आमसभा कस्तो हुन्छ देखाइदिने’ घोषणा गरेका थिए ।

माघ २३ को सभाको औचित्य पुष्टि गर्न ओली समूहले सोमबार पत्रकार सम्मेलन गर्ने भएको छ । नेकपा ओली समूहका बागमती प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले पत्रमार्फत पत्रकार सम्मेलनमा उपस्थितिका लागि आह्वान गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *