काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापा पछिल्लो समय निकै अशिष्ट बन्दै गएका छन् । खासगरी प्रचण्ड र माधवकुमार नेपालविरुद्ध यिनले सामाजिक सञ्जाल र मिडियामार्फत उछितो काढ्ने गरेका छन् ।
सोमबार बिहानै थापाले नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव नेपालमाथि कटाक्ष गरेका छन् । ‘पहिले दरबारको पश्चिम ढोकामा सभक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको इतिहासकै पुनरावृत्ति,’ आफ्नो फेसबुक स्टाटसमा नेपालले दुवै हातले टाउको समाएको तस्वीर राख्दै थापाले लेखेका छन्, ‘अहिले कार्की बैंक्वेटमा आयोजित प्रचण्डपथीय भेलाबाट स्वघोषित अध्यक्ष बनेको एक महिना चार दिनमै अवैध घोषणा ।’
आइतबार राति निर्वाचन आयोगले विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै समूहले गरेका निर्णय कानुनसम्मत नभएको निर्णय गरेको थियो । उसले फुटलाई मान्यता नै दिएन । त्यसपछि माधव नेपालको अध्यक्ष खारेज भएको भन्दै ओली पक्षले खिसिट्युरी गरिरहेको छ । ‘एकीकृत पार्टीको तेस्रो अध्यक्ष बन्न भन्दा मनले मानेन,’ थापाले नेपाललाई नेकपाको तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरिएको, तर त्यसलाई अस्वीकार गरेको प्रसंग कोट्याउँदै भनेका छन्, ‘तेल दिँदा नखाने कोल चाट्ने गर्दा त यस्तै हुन्छ नै । उधारो हुन्न, हाताहाती चाहिन्छ, पेरिसडाँडामा कुखुरी काँ ।’




