आजका पत्रपत्रिकामा विभिन्न विषयले स्थान पाएका छन् । अन्नपूर्ण पोस्ट्ले सामाजिक विषयलाई पहिलो पृष्ठमा स्थान दिएको छ भने नागरिक दैनिकले राजनितिक विषयलाई मुख्य प्राथमिकता दिएर छापेको छ।
नागरिक दैनिकले काउन्टर सभाको तयारीमा ओली समूह शिर्षकमा मुख्य खबर छापेको छ । माघ ९ गते नेकपाको दाहाल नेपाल समूहले शक्ति प्रदर्शन गरेपछि त्यसको काउन्टर जवाफमा ओलीले माघ २३ गते जनप्रदर्शन गर्ने बताएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल–दाहाल समूहले देशभर विभिन्न कार्यक्रमसहित आमसभा गर्न थालेपछि ओली समूहले पनि काउन्टरमा त्यस्तै प्रकृतिका कार्यक्रम तय गरेको हो।
वाग्मती प्रदेशको आयोजनामा हुने आमसभामा देशभरबाटै नेता कार्यकर्ता सहभागी हुने ओली समूहले जनाएको छ। ओली समूहले सबै सम्पर्क मञ्च, जनवर्गीय संगठनलाई आमसभामा सहभागी हुन निर्देशन दिएको छ।
त्यस्तै नागरिक दैनिकमा कानुनका सिद्धान्तको बारेमा पनि पहिलो पृष्ठमा मुख्य खबर छापेको छ । ईश्वरी सुवेदीले लेखेको समाचारमा अहिलेको अवस्थामा अदालतले कानुनी आधारमा टेकेर फैसला गर्दा प्रतिनिधिसभा स्वतः पुनस्र्थापना हुने देखिन्छ। तर परिस्थिति निकै अप्ठ्यारो देखिएकाले अदालतले कतै आवश्यकताको सिद्धान्त त प्रयोग गर्दैन भन्ने प्रश्न पनि खडा भइरहेको छ।
समाचारमा भनिएको छ, अदालतले अन्तर्राष्ट्रिय अभ्यासबमोजिम फैसला गर्दा कानुनको मूल अभिप्राय वा आवश्यकताको सिद्धान्तमध्ये एकमा टेकेर गर्नुपर्ने हुन्छ।
त्यसैगरी अन्नपूर्ण पोस्ट्ले शनिबार मलेसियाबाट एकै दिन १८ शव नेपाल भित्रिएको खबरलाई छापेको छ । विभिन्न कारणले मलेसियामा निधन भएका र लामो समयदेखि अड्किएका नेपालीको शव शनिबार नेपाल आइपुगेको हो।
बाटोमै जन्म, बाटोमै मरण शिर्षकमा अन्नपूर्णले फ्रन्ट पेजमा फिचर छापेको छ । बूढीनन्दा नगरपालिका–७ की ५३ वर्षीया बिस्ना गुरुङले १५ सन्तान जन्माइन्। उनले यी सबै बच्चा हिउँदमा चिसो छल्न बेंसी र वर्षात्मा भोट (चीन) तिर जाने क्रममा बाटोमै जन्माएकी हुन्। तर, सात जनाको बाटोमै मृत्यु भएको उनले सुनाइन्।
बूढीनन्दाकै वडा नम्बर ८ की ३८ वर्षीया डोमा गुरुङले बाटोमै ११ बच्चा जन्माइन् । तर, उनीसँग तीन बच्चा मात्र साथमा छन्। ८ जनाको बाटोमै मृत्यु भएको उनले सुनाइन्। बसाइ सर्दा चिसो हुने र बच्चा पाउँदा विभिन्न समस्या हुने भएकाले बचाउन नसकेको उनको भनाइ छ ।
बाजुराका भोटे जनजाति तथा भेंडापालक किसान परिवार चिसो छल्न र भेंडा चरिचरनका लागि लेक–बेंसी गर्छन्। लेक–बेंसी गर्दा धेरै शिशुको बाटोमै मृत्यु हुने गरेको नेपाल भोटे जनजाति महासंघका केन्द्रीय अध्यक्ष बुद्धिसिंह भोटेले बताए।
आजको राजधानी दैनिकले बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइनेबारे मुख्य खबर छापेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी थालेको स्वास्थ्य मन्त्रालयले खोप अभियान तथा व्यवस्थापनका लागि सातवटै प्रदेशका लागि संयोजक तोकेको छ । प्रदेश स्वास्थ्य निर्देशकसँग समन्वय गरी खोप अभियान र व्यवस्थापनलाई सहज बनाउन सातै प्रदेशमा संयोजक तोकिएको हो ।




