अनुभूति र आस्था खुबै जोडेर हेर्ने गर्छ कोही
अभिन्नताको नाममा अल्मल्याएर मान्छे
सिन्काको साँध लाएर बिथोल्ने गर्छ कोही
कसैको नास्ता कसैको रास्ता
अरूपान्तरणमा आनन्द मान्छ कोही
विपरित दिशातर्फ लाग्दा
नितान्त आपसी स्वार्थ बाझ्दा
किन डाँको छोडेर धुरुधुरु रुन्छ कोही ?
* * *
चियाएर पटक पटक हेर्दै गर्छ पल्लो छिंडीबाट
यात्रा प्रदर्शन देख्ता अरूको
साथ र मात्रा घटेको भेट्ता आफ्नो
एक्लै आफू एकान्तमा पसेर आफंैलाई लोपार्ने गर्छ
ऊ बेग्लिएझैँ ठान्छ एक्लिएझैँ मान्छ
बर्बराएर बबुरा लुक्तै छिप्तै
हबिगत भोग्दै हपार्न जान्छ
न सच्याउँछ मान्छे परिवेश आफ्नो
न आफ्नै प्रवृत्ति सच्याउने गर्छ
फगत ऊ आफ्नै छायाँसित डराउने गर्छ
सत्यजति छिपाएर बाँड्दा बाँड्दै मिथ्या
कुनै दिन निःशब्दतामा हराउने गर्छ ।
* * *
स्वार्थको चौघेरामा अटाएर आफ्नो समाजलाई
सङ्कीर्णतामा उभ्याएर आफ्नो जमातलाई
कटाक्ष दृष्टि र ईष्र्या बृष्टि भएर बर्बराउने गर्छ
सायद काँत्रिएको मन बोकेर
पश्चात्तापमय तालु ठोकेर
कद मिले पनि पद नमिल्दा
एउटा अनुहार दुई कित्तामा हड्बडाउने गर्छ
निस्वार्थ भावनाको खडेरी परेर हो कि ?
बेसुरा ओठे जवाफको घडेरी जुरेर हो ?
कतै एकला कतै दोगला बोली बनाएर गड्गडाउने गर्छ
* * *
कोही कौडा बनिरहेछ कोही कौडी गनिरहेछ
कोही चाँडै चौडा बनेँ भनिरहेछ
कोही भेडो हुल्ने भौडी खनिरहेछ !
कोही बिजोडी कोही जोडी
टकराब–टक्कर चलिरहेछ ।
* * *
मादी, संखुवासभा
हालः लोकन्थली, भक्तपुर
९८४२०९९८३१




