काठमाडौं । बागमती प्रदेश सभा बैठक शुक्रबार दिउँसो बस्ने भएको छ। बुधबार डेढ मिनेट बसेर बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।
सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजेका लागि बोलाएका हुन् । बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रचण्ड–नेपाल समूहका सांसदहरुले दबाब दिएपछि सभामुख श्रेष्ठले शुक्रबार १ बजेका लागि बैठक बोलाएका हुन्।
आज बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेश संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री केपी ओली समूहका मुख्यमन्त्री पौडेलविरुद्ध प्रचन्ड नेपाल समूहका प्रदेश सांसदहरुले गत पुस १० गते ४५ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
प्रचण्ड नेपाल समूहले पौडेललाई संसदीय दलको नेताबाट हटाउँदै अष्टलक्ष्मी शाक्यलाई नेता चयन गरेको थियो । बागमती प्रदेशमा कांग्रेसको साथ लिएर पौडेललाई अविश्वासको प्रस्तावबाट हटाउने र सरकार गठन गर्ने तयारी छ ।
पौडेललाई हटाउन प्रचण्ड नेपाल समूहले कांग्रेसलाई मुख्यमन्त्री छाड्न सक्ने बताइन्छ । यदि कांग्रेसले सरकार बनायो भने इन्द्र बानियाँ मुख्यमन्त्री बन्न सक्ने चर्चा छ ।




