काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल-नेपाल पक्षले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको छ। प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा आन्दोलन गरिरहेको दाहाल-नेपाल समूहले आज काठमाडौंमा आफ्ना १ लाख कार्यकर्ता उतार्ने दाबी गरेको छ ।
स्थायी कमिटी सदस्य सहितका नेताहरूको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज,शान्तिवाटिका, वाल्मिकि क्याम्पस लगायतका स्थानबाट जुलुस निस्किने छ।
उपत्यकाका विभिन्न ठाउँबाट निस्किएका जुलुस रत्नपार्कमा जम्मा भई मुख्य जुलुसमा परिणत हुनेछ। मुख्य जुलुस पार्टी अध्यक्षद्वय प्रचण्ड र नेपालको नेतृत्वमा रत्नपार्क, सुन्धारा, भद्रकाली, पुतली सडक हुँदै भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने केन्द्रीय संघर्ष समितिका सह–संयोजक तथा प्रवक्ता योगेश भट्टराईले जानकारी दिए । सभालाई अध्यक्षद्वयसहति बरिष्ठ नेताहरुले सम्बोधन गर्नेछन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केही दिन अघि आफ्ना कार्यकर्तालाई शाकाहारी प्रकारको आन्दोलनले नपुगेको भन्दै आक्रामक बन्न आग्रह गरेका थिए । तर सो अभिव्यक्तिको सर्वत्र विरोध भएपछि उनले कुरा सच्याएका छन् । हिंस्रक आन्दोलन नभई दमन गरे प्रतिरोध गर्न आफूले भनेको दाहालले दाबी गरेको छन् ।
त्यतिमात्र होइन नेकपाले जुलुसमा मर्यादित नारा लगाउन समेत निर्देशिका जारी गरेको छ । यसअघिका जुलुसमा अमाएदित नारा लगाइएपछि सर्वत्र विरोध भएका थिए




