रिबन

‘राजाले राखेको मर्यादा पनि राष्ट्रपतिले कुल्चिइन्’

आजका पत्रपत्रिकामा विभिन्न राजनितिक तथा सामाजिक विषयवस्तुले स्थान पाएका छन् । हिजो भारतबाट अनुदानमा ल्याइएको कोरोना विरुद्धको खोपको समाचार तस्वीरसहित सबै पत्रिकामा पहिलो पृष्ठमा छापिएको छ ।
अन्नपूर्ण पोस्ट्ले भारतबाट ल्याइएको १० लाख डोज खोपले करिब ४ लाख ५० हजार मानिसलाई पुग्ने खबर छापेको छ । अन्नपूर्ण पोस्ट् लेख्छ, भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइएको छ। जुन खोपले सातै प्रदेशका ४ लाख ५० हजार जनालाई पुग्ने अनुमान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० लाख डोज खोप भण्डारण गरिएको जानकारी दिए। यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले अनुदानमा उपलब्ध भएको खोप ५ लाख जनालाई पुग्ने अपेक्षा गरिए पनि केही खेर जान सक्ने बताए।
त्यस्तै नेपालीको भन्छा महंगिएकोबारे पनि अन्नपूर्णले चासो राखेको छ । ‘अचाक्ली महँगियो भान्छा’ शिर्षकमा अन्नपूर्ण पोस्ट् लेख्छ, कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको भान्छा अचाक्ली महँगिएको छ। तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। यसले गर्दा रोजगारी गुमाएका र कम ज्यालामा काम गर्ने वर्ग बढी मारमा परेका छन्।

त्यसैगरी आजको नागरिक दैनिकले हिजो प्रतिनिधि सभा विघटनबारेको मुद्धामा भएको बहसबारे पहिलो पृष्ठमा समाचार छापेको छ ।
‘राजाले राखेको मर्यादा पनि राष्ट्रपतिले कुल्चिइन्’ शिर्षकमा लेख्छ, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेर ‘हिजो राजाहरूले राखेको मर्यादा पनि कुल्चिएको’ आरोप लगाएका छन्। राष्ट्रपतिले कसैसँग परामर्श नगरी प्रतिनिधिसभा विघटन गरिदिनुलाई ‘संविधानको घोर उल्लंघन’ भन्दै बिहीबार सर्वोच्च अदालतमा बहस गर्दा कानुन व्यवसायीले आक्रोश पोखेका हुन्।
त्यस्तै ओलीको कदमविरुद्ध नेकपा दाहाल नेपाल समूहले कालो बेलुन उडाएको खबर पनि पहिलो पृष्ठमा छ । भने आज हुने भनिएको बृहत् जनप्रदर्शनबारे पनि समाचार लेखेको छ । शुक्रबार राजधानी काठमाडौंमा जनशक्ति प्रदर्शन गर्ने भएको छ। नेपाल–दाहाल समूहले प्रतिनिधिसभा विघटनको विरोध र पुनस्र्थापनाको पक्षमा गर्न लागिएको प्रदर्शन र सभामा एक लाखभन्दा बढी मानिस सहभागी हुने दाबी गरेको छ।
राजधानी दैनिकमा विकासे मन्त्रालयको पुँजीगत खर्च निराशजनक रहेको बारे खबर छ । परराष्ट्रको शून्य, अर्थ मन्त्रलायको एक प्रतिशत खर्च भएको समाचारमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *