काठमाडौं । यतिबेला प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेपछि सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ चलिरहेको छ । ओलीले पुस ५ गते संसद् भंग गरी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनको मिति तोकी राष्ट्रपति कार्यालय पठाएका थिए । त्यसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तुरुन्तै सदर गरिदिइन् ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाबारे सर्वोच्चमा निरन्तर सुनुवाइ, नेकपाको विभाजनबारे निर्वाचन आयोगको अन्योलतालगायतका कारण आगामी वैशाखमा चुनाव नहुने स्पष्ट हुँदै आएको छ । स्वयं प्रधानमन्त्री ओलीले पनि आफू निकटलाई अनुकूल हुँदै गएमा मंसिरसम्म निर्वाचन हुने भनेर भन्न थालिसकेका छन् ।
प्रधानमन्त्री ओलीको सोही कुरा अर्थमन्त्री एवं ओली नेकपाका महासचिव विष्णु पौडेलले फुत्काएका छन् । ओली निकट पत्रकारको राष्ट्रिय सभाको भेलामा बिहीबार सम्बोधनका क्रममा पौडेलले १७ र २७ मंसिरमा निर्वाचन हुने बताएका थिए । तर, पछि प्रेस संगठनका सहसंयोजक गणेश बस्नेतले चिर्कटो दिएर सम्झाएपछि पौडेलले तीन चारपटक वैशाख १७ र २७ गते भन्दै सच्याएका थिए ।
त्यसैले अहिले ओलीले वैशाखसम्म प्रधानमन्त्रीको कुर्सीमा बस्न प्रतिनिधिसभा भंग गरेका होइनन् भन्ने निष्कर्षमा आमजनता पुगिसकेका छन् । तर, कांग्रेसको संस्थापन पक्ष अझै पनि ओलीले वैशाखमै निर्वाचन गराउँछ र आफ्नो बहुमत आउँछ भन्ने भ्रममा परेको छ ।




