काठमाडौं । अघिल्लो र यो वर्षको माद्ध महिना नेपालका लागि विशेष बनेको छ । नेपालमा कोरोना आएको ठ्याक्कै एक वर्षपछि कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ ।
गत वर्ष माघ ९ गते नेपालमा चीनको वुहानबाट पहिलोचोटि कोरोना भित्रिएको थियो । वुहानमा एमबीबीएस अध्ययन गरिरहेका धनुषाका एक विद्यार्थीमा कोरोना देखिएको थियो । उनको एक महिनासम्म नेपालमै उपचार गरिएपछि रिपोर्ट नेगेटिभ आएको थियो ।
नेपालमा चीनबाट भित्रिएको त्यही कोरोनाभाइरस नियन्त्रणका लागि भने भारतबाट भ्याक्सिन आइपुगेको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भारतीय राजदूत विनयमोहन क्वात्राले बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० लाख डोज भ्याक्सिन हस्तान्तरण गरे ।
यसलाई अहिले संयोग मानिएको छ । दुवै छिमेकी देश । चीनबाट कोरोना आयो, भारतबाट भ्याक्सिन आयो । प्रधानमन्त्री भएलगत्तै केपी ओलीले चीनको चुच्चे रेल नेपाल केरुङ हुँदै काठमाडौंसम्म आइपुग्ने घोषणा गरेका थिए । तर, तीन महिनाअघि भारतबाटै ब्रोडगेज रेल आयो । जुन रेल माघ अन्तिम सातादेखि सञ्चालनमा आउने भएको छ ।

अहिले नेपाली जनता चीनबाट नेपाललाई सहयोग होइन, राजनीतिक दबाब मात्र होइन, सहयोग र विकासका काम भारतबाटै हुने निष्कर्षमा पुग्न थालेका छन् ।
चीनले अहिलेसम्म नेपालसँग जोडिएका उत्तरी नाका खोल्न मानेको छैन । नेपालबाट कोरोना भित्रिने भन्दै चीनले आवतजावतमा रोक लगाउँदा अर्बौं रुपैयाँका नेपाली सामान चीनका बन्दरगाह र सहरमा रोकिएर बसेका छन् । तर, भारतले भने नेपाललाई कोरोनाविरुद्धको भ्याक्सिन नै पठाइसकेको छ ।




