काठमाडौं । भारतले नेपाललाई अनुदानमा दिएकोे कोरोना भाइरसविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ । १० लाख डोज कोरोना खोपको पहिलो खेप लिएर आएको एयर इण्डियाको जहाज केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिएको हो । विमानस्थलमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम छ ।
बुधबार भारतीय दूतावास र स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा भ्याक्सिन आज आइपुग्ने जनाइएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार हप्ता दिनभित्रमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने छ ।
भारतले दिएको भ्याक्सिन टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।





