काठमाडौं । अमेरिका त्यसै संसारकै उन्नत लोकतन्त्र र विकसित देश भएको होइन । कोरोना भाइरसले संसारभर ठूलो धनजनको क्षति गरेको छ । त्यसमा पनि अमेरिकाले ठूलो क्षतिको सामना गर्नुपरिरहेको छ । अमेरिकामा अहिले दैनिक मृत्यु हुनेको संख्या चार हजार नाघेको छ । दैनिक संक्रमितको संख्या दुई लाख बढी छ ।

यस्तो अवस्थामा पनि अमेरिकामा सहज ढंगले राष्ट्रपतीय निर्वाचन सम्पन्न भयो । सहज ढंगले शासन सत्ता हस्तान्तरण भयो । भलै डोनाल्ड ट्रम्पले जो बाइडेनको जितलाई पचाउन सकेनन् । उनले बधाई दिन चाहेनन् । अमेरिकीबीच विभाजनको प्रयास गरे । अमेरिकी संसदमा हमला भयो । तैपनि अमेरिकाले ती सबै भुलाएर नयाँ राष्ट्रपति जो बाइडेनलाई स्वागत गरेको छ ।
अमेरिकी राष्ट्रपतिको सपथ लिएपछि दिएको पहिलो भाषणमा जो बाइडेनले विभाजित अमेरिकीलाई जोड्ने आफ्नो मुख्य प्राथमिकता रहने र अमेरिकालाई फेरि पहिलेकै ठाउँमा लैजाने बाचा गरे । यतिबेला संसारभर उनको सो भाषणको प्रशंसा भइरहेको छ ।
बाइडेनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पबारे एक शब्द बोलेनन् । कसैलाई तोकेर आलोचना गरेनन् । पहिलो भाषण सबैलाई जोड्ने खालको थियो ।
हाम्रो देश नेपाल भने ठ्याक्कै उल्टो बाटोमा हिँडिरहेको छ । प्रधानमन्त्री केपी ओली टुटेका फुटेका नेपाली मन जोड्न होइन, तोड्न उद्यत छन् । उनी आफ्ना विरोधीलाई भित्तामै पुग्ने गरी बोलिरहन्छन् । जनताले तिरेको कर खाएर उनै जनताको हुर्मत लिने काम गरिरहेका छन् ।
विपक्षीको उछितो काढ्ने गरी बोल्न पाउँदा उनलाई आनन्द आउँछ । विरोधीलाई अपाच्य शब्द प्रयोग गरेर गाली गर्न उनका कार्यकर्ताले नै उक्साउने गरेका छन् । त्यही भएर अहिले नेपालको राजनीति पुर्नै नसक्ने अँध्यारो खाडलमा फस्दै गएको विश्लेषण गर्न थालिएको छ ।




