रिबन

शशांक भन्छन्, ओलीले आफू हार्ने चुनाव किन गराउँछन् ? देउवालाई चुनाव हुने विश्वास छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला प्रधानमन्त्री केपी ओलीले वैशाखमा चुनाव गराउने उद्देश्यले प्रतिनिधिसभा विघटन नगरेको बताएका छन् । उनले प्रधानमन्त्रीमा संसद् विघटनको अधिकार नभए पनि ओलीले भंग गरेकाले प्रतिनिधिसभा पुनःस्थापनाको माग लिएर कांग्रेस अघि बढ्नुपर्ने उनको भनाइ छ ।

बिहीबार प्रकाशित कान्तिपुर दैनिकलाई दिएको संक्षिप्त अन्तर्वार्तामा कोइरालाले प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच केही विषयमा सहमति भएको हुन सक्ने आशंका गरेका छन् । उनले ओलीले वैशाखमा चुनाव गराउँछु भनेकाले देउवाले सफ्टनेस राखेको उल्लेख गरेका छन् । तर, पछिल्लो केही दिनयता देउवाले ओलीले चुनाव गराउनै सक्दैनन् भन्दै आन्दोलन गर्नुपर्ने धारणा सार्वजनिक गरिरहेका छन् ।

‘शेरबहादुरजीले बारम्बार चुनाव हुन्छ भन्नुहुन्छ । उहाँलाई विश्वास छ, तर मलाई विश्वास छैन । २०६४ मा गिरिजाप्रसाद कोइरालाले पार्टी हार्छ भन्ने जान्दाजान्दै पनि चुनाव गराउनुभएको थियो । ओलीमा त्यस्तो खालको सोचाइ देखिन्न,’ शशांकले अन्तर्वार्तामा भनेका छन् । उनले ओलीले आफूले हार्ने चुनाव किन गराउँछन् भन्दै वैशाखमा चुनाव नहुने बताएका छन् ।

नेपाली कांग्रेसले आज देशका सम्पूर्ण वडामा प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्दैछ । पछिल्लो समय कांग्रेसमा प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने आवाज प्रबल रूपमा उठेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *