रिबन

ओलीलाई कामचलाउ प्रधानमन्त्री बनाउन पूर्वसभामुख ढुंगानाको माग

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले प्रधानमन्त्री केपी ओलीलाई कामचलाउ प्रधानमन्त्री बनाउन माग गरेका छन् । ढुंगानाले प्रतिनिधिसभा विघटन गरेको एक महिनासम्म पनि राष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञप्ति जारी गरेर कामचलाउ नबनाएको भन्दै आपत्ति प्रकट गरेका हुन् ।

सोमबार बिहान ढुंगानाले प्रधानमन्त्री केपी ओलीको राजीनामा लिर्इ कामचलाउ बनाउन विज्ञप्ति जारी गर्न राष्ट्रपति कार्यालयबाट किन ढिलाइ भन्दै प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘असंवैधानिकताको वर्तमान क्रम कहिलेसम्म रु पुस ५ गतेको संवैधानिक परिषद्को निर्णय अवैधानिक, प्रतिनिधिसभा विघटन अवैधानिक तथा सरकार पनि अवैधानिक। प्रमको राजीनामा लिइ कामचलाउ बनाउन विज्ञप्ति जारी गर्न राष्ट्रपति कार्यालयबाट किन ढिलाइ ?’

शनिबार नेकपा प्रदेश १ को कार्यकर्ता भेलामा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले ओलीले फुलफ्लेज प्रधानमन्त्रीको रूपमा काम गर्न पाउने भन्दै दलिल पेस गरेका थिए । उनले चुनावबाट अर्को प्रधानमन्त्री नआएसम्म ओली नै कार्यकारी प्रधानमन्त्री भएको दाबी गरेपछि पूर्वसभामुख ढुंगानाले ओलीको वैधानिकतामा प्रश्न उठाएका हुन् ।

प्रतिनिधिसभा विघटन भएसँगै ओली प्रधानमन्त्रीबाट मुक्त भएको मानिने भएकाले राष्ट्रपतिले लिखित रूपमा अहिलेको प्रधानमन्त्रीलाई कामचलाउ भनेर वक्तव्य जारी गर्नुपर्ने उनको तर्क छ । संविधानको धारा ७७ (ग) मा प्रतिनिधिसभाको सदस्य नरहेमा प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था छ ।

प्रधानमन्त्री कामचलाउ भएपछि दूरगामी असर पार्ने नीति तय गर्ने, निर्णय लिन र नियुक्ति गर्न नपाउने ढुंगानाको भनाइ छ । तर संसद विघटन गरेपछि प्रधानमन्त्रीले ८ मन्त्री र १ राजमन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका थिए । जसले उनी पूर्णकालीन प्रधामन्त्री हुन् कि निर्वाचन प्रयोजनको सरकारका कामचलाउ प्रधानमन्त्री भन्ने विवाद सिर्जना गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *