एजेन्सी । एक वर्षअघिदेखि फैलिएको कोरोना भाइरसले अहिलेसम्म संसारभर २० लाखभन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्ला केही सातायता हरेक दिन १५–१६ हजारको मृत्यु भइरहेको छ । दैनिक संक्रमितको संख्या ६ लाख नाघेको छ ।
एकप्रकारले संसारकै जनजीवन तहसनहस बनाइदिएको छ । यही बीचमा बेलायतबाट फैलिएको कोरोना भाइरसको नयाँ स्वरूप (भेरियन्ट) अहिले विभिन्न महादेशमा पुगिसकेको छ । यो झन् तीव्र गतिमा फैलिँदो छ । संक्रमण क्षमता निकै उच्च रहेको भाइरसको नयाँ प्रकार बेलायतसहित ५० भन्दा बढी देश र क्षेत्रहरूमा फैलिसकेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ प्रकारको कोरोना भाइरसका कारण सन् २०२१ मा संसारभरकै जनजीवन झन् कठिन हुने जनाएको छ । उसले २०२० भन्दा पनि यो वर्ष निकै चुनौतीपूर्ण हुने जनाएको हो ।
नयाँ भाइरसका कारण पछिल्ला दिनहहरूमा बेलायतमा दैनिक हजारौंको मृत्यु हुन थालेको छ । त्यसैले डेढ महिनाका लागि बेलायतमा लकडाउन गरिएको छ ।
बीबीसीका अनुसार दक्षिण अफ्रिकामा देखा परेको भाइरसको प्रकार (स्ट्रेन) २० देशमा फैलिइसकेको छ । केही समयअघि बेलायतमा देखिएको जस्तै अफ्रिकामा पनि अघिल्लो प्रकारको भाइरसभन्दा यो छिटो विस्तार हुने क्षमताका रहेको वैज्ञानिकहरूले जनाएका छन्, जसका कारण अफ्रिकी क्षेत्रमा चिन्ता थपिएको छ । त्यसैगरी, जापानमा पनि अधिकारीहरूले नयाँ प्रकारको भाइरस पत्ता लगाएका छन् । स्पेनमा पनि भाइरसको नयाँ प्रकार पुष्टि भएको छ । नयाँ प्रकारको भाइरसले अन्य प्रकारका कोरोना भाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ ।




