आजको संघीय राजधानीबाट प्रकाशित सबै पत्रपत्रिकामा नेकपा नेताहरुकै जुहारीबारे चर्चा छ । आफूनिकट विभिन्न संघ संगठनको कार्यक्रममा दाहाल नेपाल पक्ष र ओली पक्ष दुबैले आफ्नो आफ्नो तिक्तता निकालेका छन् । नागरिक दैनिकले ओलीले प्रचण्डको पिठिउँमा चढेर लात्तीले हिर्काएः नेपाल शिर्षकमा समाचार छापेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड– नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले एकताको नाममा तत्कालिन माओवादीलाई केपी शर्मा ओलीले सत्ताको भर्याङ मात्र बनाएको बताएका छन् । नेपालगन्जमा आइतबार प्रचण्ड–नेपाल समुहले आयोजना गरेको जिल्ला स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बन्नकै लागि ओलीले माओवादीलाई भर्याङ बनाएको ठोकुवा गरे । ‘ओलीले पुर्व एमालेको तर्फबाट पुर्ब माओबादीलाई भर्याङ बनाएर प्रचण्ड कमरेडको पिठ्युमा चढेर माथीबाट लात्तीले हिर्काउने काम गरे,’ पुर्वप्रधानमन्त्री नेपालले भने ।
त्यस्तै नागरिकले पहिलो पृष्ठमै दाहाल र ओलीको आरोपप्रत्यारोपको जुहारी चलेको खबर छापेको छ । ओलीले अदालतको हुर्मत लिने काम भयो भनेका छन् भने प्रचण्डले ओलीले अदालतलाई धम्क्याइएको भनेर आरोप लगाएका छन् ।
आजको राजधानी दैनिकले पहिलो पृष्ठमा त्रिविमा भएको बेथितिबारे मुख्य खबर छापेको छ ।
त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च शिर्षकमा समाचार छापेको छ । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्रै वार्षिक अनुमानित खर्च ४ अर्ब रुपैयाँ हुने गरेको पाइएको छ । त्रिवि मातहत रहेका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापक, शिक्षण सहायकलगायतका लागि मात्रै वार्षिक अनुमानित ३ अर्ब ८७ करोड १६ लाख ७० हजार ७ सय ६० रुपैयाँ तलब स्केलमा खर्च हुने गरेको छ । यसरी हेर्दा त्रिविमा अध्यापन गर्नेहरूको मासिक तलबमा अनुमानित ३२ करोड २६ लाख ३९ हजार २ सय ३० रुपैयाँ खर्च हुने गरेको देखिएको त्रिवि आर्थिक प्रशासन महाशाखाले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
अन्नपूर्ण पोष्टले गोरखाको जिल्ला प्रशासन कार्यलयमा भइरहेको बेथितिबारे कलम चलाएको छ । यहाँको कार्यालयमा दिउँसो १ बजेपछि विभिन्न बाहानामा कुनै पनि सरकारी काम नहुने गरेको अन्नपूर्ण पोष्टले लेखेको छ । एउटा नागरिकता बनाउन समेत १५ दिन लाग्ने अन्नपूर्णले लेखेको छ । सबै कागजात मिले एकैदिनमा नागरिकता बन्छ । कार्यलयले एक दिनमा ७० भन्दा धेरैको नागरिकता नबनाउने र ३० जना भन्दा धेरैको राष्ट्रिय परिचयपत्र फारम नभर्ने कोटा सिस्टम राखेकोले सेवाग्राही मर्कामा परेका हुन्।




