रिबन

आज थारु समुदायले माघी पर्व मनाउँदै,कोरोना कहरले रौनकतामा कमी

बर्दिया । आज माघे सङ्क्रान्ति । पश्चिम नेपालको लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्ने दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा बसोबास गर्ने थारु समुदायमा माघी पर्वको विषेश रुपमा मनाइन्छ । थारु समुदायले माघीलाई विशेष पर्वका रुपमा मनाउने गर्छन् ।

‘माघ लहाइली, सुरीक सिकार खाइली रे हाँ, सखिया हो, माघक पिली, गुरी गुरी जाँड’ यस्तै खालका माघी पर्व विशेष मघौटा, हुरदंगवा, सखिया, गीत गाउँदै नाचगान गर्दै माघे सङ्क्रान्तिको अघिल्लो दिन जिता मार्ने, मिठा परिकार खाने र माघी नुहाउने चलन छ ।

आजको दिनलाई थारु समुदायले नयाँ वर्षको रुपमा विशेष महत्त्वकासाथ पनि मनाउने गर्छन् । तर यो वर्ष कोरोना महामारी कारण मेला महोत्सव गर्न दिइएको छैन । त्यसैले गर्दा पनि बर्दियाको ठाकुरद्वारासहित विभिन्न ठाउँमा लाग्ने परम्परागत माघी मेला पनि यस वर्ष प्रभावित भएको छ ।

पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतसँगै नजिकैको छिमेकी देश भारतबाट समेत ठाकुरद्वारा मन्दिरको दर्शन गर्न र मेला भर्न हजारौं भक्तजन आउने गर्छन् ।

थारु समुदायमा मनाइने माघी पर्वमा पुस मसान्तको अघिल्लो दिन नजिकैको खोला र नदीमा माछा मार्ने, मसान्तीका दिन जिता (सुंगुरबंगुर) काट्ने, नयाँ धान कुटाएर राखिएको चामलको पिठोबाट बनाइने ढिक्रीलगायतका परिकार बनाएर नाचगान गर्दै मिलेर खाने चलन हुन्छ ।

माघे सङ्क्रान्तिका बिहानै खोला वा नदीमा माघी नुहाउने र नजिकैको मन्दिरमा पूजा गर्न जाने चलन छ ।

माघी पर्वसँगै थारु जातीमा खेतबारी अधियाबटैँया लगाउने, गाउँको बडघर, चौकीदार, गुरुवा, ल्वाहार राख्न खुजनी बुजनी ९पक्कापक्की० गर्ने परम्परागत चलन पनि कायमै छ ।

माघी पर्वकै अवसरमा ठाकुरद्वाराको परम्परागत माघी मेलामा दैलेख, कालीकोट, मुगु, जुम्लालगायतका पहाडी जिल्लाबाट बसाइँ सरेर बर्दियामा बसोबास गर्ने महिला पुरुषले पहाडी क्षेत्रको मेलामा गाइने देउडा गीत गाएर माघी मेलालाई रमाइलो बनाउने गर्थे । तर कोरोनाका कारण यस वर्ष त्यस्तो रमाइलो गर्न पाइने छैन । उल्लास विनाको माघी बन्ने भएको छ सबैको ।

थारु समुदायले माघी पर्वमा मनोरञ्जन गर्ने र गाउँ समाज सञ्चालनका लागि नयाँ नेतृत्व चयन गर्ने गर्छन् । मघौटा, हुरदंगवा, सखियालगायतका गीतमा नाचगान गर्दै एक हप्तासम्म माघी पर्व मनाउने गरिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *