काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनैतिक ‘नौटंकी’ र ‘जोक्कर’ मा परिणत भएको बताए । उनले अहिलेका सचेत नागरिक ‘नौटङ्की’ र ‘जोक्कर’ को पछाडि कोही नलाग्ने समेत दाबी गरे ।
आज नेकपा काठमाडौंले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ७० वर्षको राजनीतिक आन्दोलनको उपलब्धिका रुपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान धरापमा परेको बताउँदै त्यसलाई जोगाउन संघर्ष गर्नुपर्ने बताए । अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटनपछि राष्ट्र र जनतामा देखापरेको संकटलाई समधान र यो संकटबाट बाहिर निस्कन उपयबारे छलफल गर्ने उपस्थित भएको बताए ।
‘हामी यहाँ कुनै प्रदर्शन देखाउन जुटेका छैनौँ, हामी यहाँ उखान टुक्का भनेर हँसाउनका लागि कमेडी शो गर्न पनि उपस्थित भएका छैनौँ, हामी मानिसहरुलाई दिग्भ्रमित पार्ने, उद्देलिन पार्ने, उत्तेजित पार्ने कुरा गर्नका निम्ति पनि यहाँ जुटेका होइनौं’, अध्यक्ष प्रचण्डले भने, ‘हामी आज राष्ट्र र जनतामा देखापरेको संकटलाई समधान गर्ने उपयबारे छलफल गर्न र यो संकटबाट बाहिर निस्कन उपयबारे छलफल गर्ने उपस्थित भएका छौँ ।’
उनले थपे, ‘पार्टी एकताका बेला हामीले गरेका सबै प्रतिवद्धताअनुसार अघि बढेका छौँ। यसमा विश्वास गर्न सबैलाई अपिल गर्छु।’
तर ओली समूहलाई लक्षित गर्दै बाहिर नौटंकी प्रस्तुत भइरहेको दाहालले आरोप लगाएका छन् । उनले भने, ‘यहाँ यथार्थ भन्दा बाहिर गएर नौटंकी भइरहेका छ। कहिलेकाहीँ विछिप्त मानसिकताको उपज हो कि जस्तो लाग्छ। उनीहरुको तर्क सुन्दा साथीहरु जोकर भएको जस्तो लाग्छरु त्यो सोध्न मन लाग्छ– ‘चार सय ४१ जना सदस्य भएको केन्द्रीय कमिटीलाई विस्तार गरेर ११ सय ९९ पुर्याउन विधानले दिन्न ?’




