काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतको निर्णय नेपाली कांग्रेसलाई मान्य हुने बताएका छन् । खेलकुद विभगको आयोजनमा भएको कोमलमायाँ खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा सिन्धुपाल्चोकको पलाती पुगेका सभापति देउवाले सर्वोच्च अदालतको निर्णय नेपाली कांग्रेसलाई मान्य हुने बताएका हुन ।
समसामयिक राजनीतिक घटनाक्रमको बारेमा चर्चा गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएका बताएका थिए । प्रधानमन्त्री ओलीले संसद भंग गरेर चुनावको तोकेका छन् सभापति देउवाले भने– ‘नेपाली कांग्रेस केन्द्रीय समितिले उक्त कदमलाई असंवैधानिक कदम भनिसकेको छ ।’

प्रतिनिधिसभा विघटनसम्वन्धी अदालतमा विचाराधीन मुद्दाका बारेमा नेपाली कांग्रेससँग केही बोल्ने कुरा छैन, सभापति देउवाले भने– ‘प्रजातान्त्रिक पार्टीले अदालतमा विचाराधीन मुद्दाका बारेमा यसो गर उसो भनेर सडकमा जुलुस निकाल्न मिल्दैन ।’ अदालत स्वतन्त्र निकाय हो स्वतन्त्र रुपले निर्णय गर्न पाउनु पर्छ । अदालतको निर्णयलाई जीत हारको विषय बनाउन नहुने पनि उनले बताए । अदालतको निर्णय हार्नेले पनि मान्नु पर्छ ।
नेपाली कांग्रेसले स्थापना कालदेखि नै अदालतको निर्णय मन्दै आएको र अब पनि अदालतको निर्णय मान्ने बताए । संसद पुनःस्थापन भए सक्रियताका साथ संसदमा भाग लिने र चुनावको निर्णय भए चुनावमा जाने देउवाले बताए ।
नेपाली कांग्रेसका खेलकुद विभाग प्रमुख एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले खेलकुद विभागले कांग्रेसका संस्थापक स्वर्गीय नेताहरु र प्रथमसहिद लखन थापाको नाममा देशभर खेलकुद प्रतियोगिता गर्ने बताए ।
नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग प्रमुख बस्नेतले अभिभावकको स्मृतिमा कोमलमाया खड्ग बस्नेत स्मृति कप सञ्चालन गरेका हुन् । प्रतियोगितामा सिन्धुपाल्चोकका ९ वटा स्थानीय तह सहभागी थिए । प्रतियोगिता गत पुस २२ गतेदेखि सञ्चालन भएको थियो ।




