नयाँदिल्ली । भारतमा आउँदो शनिबार अर्थात् १६ जनवरीबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुरु हुँदैछ । स्वास्थ्य मन्त्रालयले भनेको छ– पहिलो चरणमा अग्रमोर्चामा खटिएका तीन करोड स्वास्थ्यकर्मीलाई खोप लगाइने छ ।
पहिलो चरणमा स्वास्थ्यकर्मी अर्थात् डाक्टर, नर्स, औषधि विक्रेता र स्वास्थ्यसँग जोडिएका सबैलाई दिइने छ । यसको संख्या ८० लाखदेखि एक करोड पुग्ने अनुमान गरिएको छ । योसँगै अग्रमोर्चामा काम गर्ने राज्यका प्रहरी, अर्धसैनिक, सैनिकलगायत झन्डै दुई करोडलाई भ्याक्सिन लगाइने छ ।
मन्त्रालयले भनेको छ, दोस्रो चरणमा ५० वर्ष उमेरसमूहभन्दा माथिका र त्यसभन्दा कम उमेरका खोप लगाउन अनिवार्य ठानिएकालाई भ्याक्सिन लगाइने छ । भारतले दोस्रो चरणमा २७ करोडलाई खोप लगाउने योजना अगाडि सारेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग स्वास्थ्य मन्त्रालयले महामारीबारे समीक्षा बैठक गरेपछि योजना तयार पारेको हो ।
भारतमा कोरोना भाइरसको पहिलो संक्रमित ८ जनवरीमा फेला परेको थियो । भारतीय सरकारले तयार पारेको यो योजनाअनुसार खोप निर्माता कम्पनीले चारवटा ठूलो चिस्यान केन्द्र स्थापना गरिसकेको छ । कर्नाल, मुम्बाइ, चेन्नाइ र कोलकातामा स्थापना गरिएको चिस्यान केन्द्रमा खोप राखिनेछ । त्यहाँबाट ३७ राज्यमा सञ्चालित चिस्यान केन्द्रमा वितरण गरिनेछ ।




