वैदेशिक रोजगारीमा जानु नेपालीका लागि अहिलेको परिवेशमा सामान्य जस्तै भएको छ । वैदेशिक रोजगारीका प्रमुख गन्तव्यका रूपमा विश्वका विकसित देशहरू अग्रपंक्तिमा पर्छन् । देशको सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयबाट विभिन्न विधामा उच्च शिक्षा हासिल गरेका युवाहरू जब वैदेशिक रोजगारीका सिलसिलामा यस्ता देशमा जान्छन् र त्यहॉं आफ्नो व्यावसायिक जीवनको सुरूवात गर्नेक्रममा शिक्षाको कुरा आउँछ, तब आफ्नो देशमा आर्जित शिक्षाको मूल्यांकन लगभग शून्य भएको पाउँछन् । नेपाली तरल राजनीतिक अवस्थामा सबैको ध्यान राजनीतिक उतारचढावमा केन्द्रीत हुनु स्वाभाविक भए पनि शिक्षासँग सम्वन्धित निकायको नेपाली शैक्षिक गुणस्तर सुधारतर्फ ध्यान नजानु दुर्भाग्यपूर्ण हो ।
जब उच्च माध्यमिक तह पूरा गरी उच्च शिक्षाको कुरा आउँछ, उच्च माध्यमिक तह पूरा गर्ने सबै विद्यार्थी विश्वविद्यालय भर्ना हुन सफल हुन्छन् भन्ने निश्चित हुँदैन
मेरो वरपर यस्ता धेरै साथीहरूको जमघट छ जो नेपाली विश्वविद्यालयबाट उच्च शिक्षा हॉसिल गरेका अब्बल दर्जाका नागरिक हुन् । तिनै युवाहरू यहॉं आफ्ना अध्ययनका प्रमाणपत्र बाकसमा थन्क्याई जसरी भए पनि पैसा कमाउने त हो नि भन्ने मानसिकता राखी आफ्नो अध्ययनसँग कुनै तालमेल नराख्ने गरेको देखिएको छ । व्यक्तिगत रूपमा मेरो पनि त्यस्तै तीतो अनुभव छ । पाठ्यक्रमको आधारमा हेर्ने हो भने नेपाली पाठ्यक्रम धेरै नै राम्रो छ । तर त्यसबाट विद्यार्थीले सैद्धान्तिक ज्ञान प्राप्त गरे पनि प्रयोगात्मक ज्ञानमा हुने कमीले यस्तो अवस्था निम्तिएको देखिन्छ ।
हरेक देशको आफ्नै शिक्षा नीति हुन्छ । बालबालिका देशका कर्णधार हुन् । आफ्ना बालबलिकालाई कस्तो ज्ञान दिने र कस्ता नागरिक बनाउने भन्ने कुराको निक्र्योल गर्ने काम त्यहॉंको शिक्षा नीतिले गर्छ । तर राम्रा कुराहरूको अनुशरण विभिन्न देशहरूको अनुभवबाट गर्न सकिन्छ र त्यसलाई आफ्नो परिवेश सुहाउँदो रूपमा रूपान्तरण गर्न सकिन्छ । विभिन्न देशको शैक्षिक ढॉंचाको अध्ययन गर्ने हो भने उच्च माध्यमिक तहसम्मको अध्ययन सर्वसुलभ र सहज छ । निश्चित मापदण्ड पूरा गरे उमेर बढेसँगै कक्षा बढ्दै जान्छ । तर जब उच्च माध्यमिक तह पूरा गरी उच्च शिक्षाको कुरा आउँछ, उच्च माध्यमिक तह पूरा गर्ने सबै विद्यार्थी विश्वविद्यालय भर्ना हुन सफल हुन्छन् भन्ने निश्चित हुँदैन ।
विश्वविद्यालयमा पनि एक तह पार गरे पनि अर्काे तहमा भर्ना पाउन कठोर परिश्रम गर्नुपर्ने हुन्छ । तसर्थ, विश्वविद्यालयको एक तह पूरा गरेपछि अर्काे तहमा भर्ना हुनु विद्यार्थीका लागि प्रतिष्ठाको विषय बन्छ । जसले गर्दा विद्यार्थीहरू पछिसम्मको लामो सोच राखेर अध्ययन गर्न उत्प्रेरित हुन्छन् । अर्कोतर्फ जो विश्वविद्यालय भर्ना हुन असफल हुन्छन्, उनीहरूलाई विकल्प स्वरूप आफ्नो व्यावसायिक रुचिका आधारमा व्यावसायिक दक्षता प्रदान गर्ने कलेजहरू प्रशस्त हुन्छन् । त्यस्ता कलेजबाट दीक्षित भएका विद्यार्थीहरू सम्बन्धित कामको विशेषज्ञको रूपमा सहजताका साथ बजारमा बिक्न सक्छन् ।
तर हाम्रो सन्दर्भमा भने व्यावसायिक शिक्षा प्रदान गर्ने शिक्षालयहरूको कमी रहेको अवस्था छ । अहिले पछिल्लो समयमा केही यस्ता शिक्षालयहरू खुल्नेक्रमको सुरूवात भए पनि आमसर्वसाधारणको पहुँचभन्दा बाहिर छन् । जसको फलस्वरूप उच्च माध्यमिक तह पूरा गर्ने जो सबैको उच्च शिक्षा अध्ययनको थलो भनेकै सरकारी स्वामित्वका कलेजहरू हुन जान्छन् । अनि यस्ता कलेजहरूबाट विद्यार्थीले विषयगत ज्ञानभन्दा बढी राजनीतिक कुरीतिको भारी बोकी दीक्षित हुन्छन् । यसका केही कारक तत्वहरूमा नेपाली राजनीतिक तरल अवस्था, शैक्षिक व्यापारीकरण, शिक्षण संस्थाहरूमा राजनीतिक चलखेल, जसरी पनि शैक्षिक प्रमाणपत्र प्राप्त गर्ने मनस्थिति, सम्बन्धित तहमा बुझाउनुपर्ने शोधपत्र तयार गर्दा गरिने लापरवाही आदि छन् ।
तसर्थ अहिलेको बदलिँदो विश्व परिवेशअनुसार व्यावसायिक शिक्षामा जोड दिँदै विश्वविद्यालयले पनि सैद्धान्तिक साथसाथै प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने आवश्यकता देखिन्छ । नत्र भोलिका पिँढीले पनि हाम्रो जस्तै विडम्बना भोग्न नपर्ला भन्न सकिन्नँ ।




