काठमाडौं । प्रदेश १ मा नेकपा विभाजनको असर देखिएको छ । दुवै पक्षले एकले अर्कोलाई कारवाहीको प्रकृया अघि बढाएका छन् । मूख्यमन्त्री पदनै धरापमा परेपछि शेरधन राई समूहले प्रचण्ड–नेपाल समूहका केही नेताहरुलाई स्पष्टिकरण सोधेको थियो । त्यसपछि सोमबार प्रचण्ड–नेपाल समूहका संसदीय दलका नेता भीम आचार्यले मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, भूमि कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा, विमल कार्कीलाई सांसद पदबाट तीन महिनाका लागि निलम्बन गरिएको जनाएका छन् ।
दलको कुनै बैठकमा सहभागी नभएको, पार्टी हित विपरीत काम गरेको अभियोग लगाउँदै उनीहरूलाई कारबाही गरिएको प्रदेशसभामा दर्ता भएको पत्रमा उल्लेख छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि मुख्यमनत्री शेरधन राईविरूद्ध प्रचण्ड–नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।लगत्तै अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ जनालाई मुख्यमन्त्री राईले निलम्बनको घोषणा गरेका थिए । प्रदेश १मा प्रधानमन्त्री ओली समूहले नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने गृहकार्य गरिरहेका बेला प्रचण्ड–नेपाल समूहले सोमबार निलम्बन गरेको जनाएको थियो ।




