आजका पत्रपत्रिकाहरुमा फरक फरक विषयवस्तुले स्थान पाएका छन् ।
नागरिक दैनिकले लोकतन्त्रले तानाशाहबाट कसरी आफूलाई जोगाउँछ ? शिर्षकमा पहिलो पृष्ठमा विचार प्रकाशित गरेको छ । गुणराज लुइँटेल र सुभास घिमिरेले लेखेको विचारमा नेपालका ओलीले गरेको संसद् विघटनदेखि अमेरिकामा डोनाल्ड ट्रम्पको उक्साहटमा उनका समर्थकले गरेको संसद् भवनमाथीको आक्रमणबारेसम्मको घटनालाई जोडेर लोकतन्त्रमाथी भइरहेको तानाशाहबारे लेखेको छन् ।
त्यस्तै ओली गुटबाहेक सबै नागरिकसमाज पत्रकार सम्पादक, अधिबक्ता पूर्व न्यायाधीशहरु संसद् विघटनको विपक्षमा रहेको टपेन्द्र कार्कीले लेखेका छन् ।
आजको अन्नपूर्ण पोस्ट्ले पनि पहिलो पृष्ठमा समाचार टिप्पणी नै छापेको छ । अखण्ड भण्डारीले खण्डित नेकपा, दण्डित भविष्य शिर्षकमा टिप्पणी लेखेका छन् । जग्गा किर्तेमा ५० विरुद्ध मुद्दा दायर भएको अर्को समाचार पनि छ । सार्वजनिक जग्गा किर्ते आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्चपदस्थ कर्मचारीसहित ५० जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ। १७ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा चलाइएको छ भने ३३ लाई जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको छ।
जग्गा माफियाले नापी र मालपोतका कर्मचारीको मिलेमतोमा ललितपुरका साविक हरिसिद्धि गाविस–१ क, धापाखेल गाविस–१ क तथा हाल ललितपुर महानगरपालिका–२८ र २३ स्थित ८ रोपनी १२ आना ३ पैसा २ दाम सरकारीरसार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरेको अख्तियारको अनुसन्धानले देखाएको छ। उक्त कार्यमा नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख बुद्धिमान जैसी र मालपोत प्रमुख उपसचिव बाबुराम खनालको मिलेमतो देखिएको आयोगले जनाएको छ।
त्यस्तै हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा गरेको सम्बोधनलाई पनि केही पत्रिकाले पहिलो पृष्ठमा छापेका छन् ।
राजधानी दैनिकले नेपालमा कोरोनाको खोप ल्याउन अझै अन्योल
भएको समाचारलाई प्राथमिकता दिएर छापेको छ । कोरोना भाइरसविरुद्धको खोप आयातका लागि सरकारले कूटनीतिक र प्राविधिक तयारी तीव्र बनाएको बताए पनि खोप आउनेबारे अन्योल देखिएको छ । कोभ्याक्स वा निजी क्षेत्रमध्ये कसले अघि ल्याउने अझै अन्योल छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुईदेखि आठ डिग्री सेन्डिग्रेडमा भण्डारण गर्न मिल्ने भ्याक्सिनलाई प्राथमिकतामा राखेको छ ।




