काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महान् जनयुद्ध फर्सी कुहिए जसरी कुहिएको बताएका छन् । युवा संघ बागमतीको भेलालाई सम्बोधन गर्दै ओेलीले पुष्पकमल दाहालले नेतृत्व गरेको जनयुद्ध अब कुहिएको बताए । प्रचण्ड माधव समूहले आफू राजनीति र नेतृत्वबाट बिदा हुने भविष्यवाणी गरेको भन्दै ओलीले उनीहरुको भविष्य हेर्ने क्षमतामा कटाक्ष गर्दै जनयुद्ध फर्सी कुहिए जसरी कुहिएको बताएका छन् ।
कार्यक्रममा बोल्दै ओलीले सांसदहरुले विभिन्न संसदीय समितिका सभापति भएपछि केही कामै गर्न नदिएको बताए । विभिन्न नेताको उक्साहटमा आएर सरकारलाई अलमल्याउने गरेका उनको भनाइ थियो ।
चुनाव चिह्न आफूहरुको भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डले कुन मुखले दाबी गर्छन् ?’ सूर्य चुनाव चिह्न अरुले दाबी गर्ने कुनै आधार नभएको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले न्यायालयमा जागिर खाएकै भरमा सडकबाट फैसला सुनाउन मिल्छ भन्दै प्रश्न गरेका थिए । सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले अदालतलाई धक्याउन नसुहाउने पनि उनको भनाइ थियो ।
‘न्यायालयमा एकपटक जागिर खाएको भरमा सडकबाट फैसला सुनाउन मिल्छ ?’ उनले भने, ‘सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न सुहाउँदैन ।’
उनले संसदको निर्वाचन हुँदा देश संकटमा नपर्ने जनाएका छन् । ‘संसदको निर्वाचन हुँदा देश संकटमा पर्छ ? संविधान संकटमा पर्छ ? स्वार्थीलाई संकट पर्छ, देशलाई होइन,’ उनले भने, ‘यतिबेला लोकतन्त्र विरोधीहरू आत्तिएका छन्, त्यही भएर जे पायो त्यही बोलिरहेका छन् ।’




