राजनीति

कम्युनिष्टहरुले राजनीतिक संस्कार भत्काए: प्रवक्ता शर्मा

काठमाडौं । सरकार चलाउन नसक्ने कम्युनिष्टहरुले राजनीतिक संस्कार भत्काएको आरोप नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । संसद विघटनको विरोधमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ (क) ले शनिबार भृकुटीमण्डल प्रदर्शनीमार्गमा आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले भने, ‘दाहाल नेपाल समूहले आयोजना गरेको कार्यक्रममा राष्ट्रपतिमाथि भीडले अशोभनीय नारा लाग्यो । भीडले नारा लगायो भनियो । त्यो भनेर उनीहरु उम्किन पाउँदैनन् । त्यसको जिम्मा आयोजकले लिनुपर्छ, जवाफदेहीताबाट कोही पनि पन्छिन मिल्दैन ।’

विभाजित भएपछि कम्युनिष्टहरुले राजनीतिक संस्कार बिर्सेर गालीगलौजमा उत्रिएको उनको भनाइ थियो । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले पनि विरोध कार्यक्रम आयोजना गरेको छ, तर राजनीतिक संस्कारभन्दा बाहिर गएर भीडले जथाभावी गर्दैन्, प्रवक्ता शर्माले भने, ‘कम्युनिष्ट पार्टीका नेताहरुको भनाइ सुनियो भने बालबालिकामा समेत मानसिक असर पुग्छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबाट वृद्धाहरुसमेत आजीत भइसकेका छन् ।’

नेपाली कांग्रेसले पनि बन्दुक उठायो, तर जनतामाथि केही पनि प्रहार गरेन, तर कम्युनिष्टहरुले प्रहरी चौकीमाथि आक्रमण गरे, पढाउँदै गरेका शिक्षक अपरण गरेर राजनीतिक संस्कार कुल्चेको भनाइ प्रवक्ता शर्माको थियो । कांग्रेसले जहिले पनि संस्कारयुक्त राजनीति गर्छ, त्यसैले कम्युनिष्टले कांग्रेसबाट सिक्न जरुरी रहेको उनले बताए ।

प्रवक्ता शर्माको भाषण सुन्न ठूलो संख्यामा कार्यक्रमस्थलमा उपस्थित थियो । मार्मिक शैलीबाट प्रस्तुत भएका प्रवक्ता शर्माले संसद विघटनको मुद्दा अदालतमा पुगेकाले त्यसबारे बोल्न आवश्यक नभएको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *