काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आगामी माघ ६ गते बोलाएको छ । पुस २७ गते सोमबार बस्ने भनिएको केन्द्रीय समिति बैठक २०७७ माघ ६ गते मंगलबार बस्ने भएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुने मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसले भोली पुस २५ गते शनिबार प्रतिनिधिसभा विघटनविरुद्ध तीन सय ३० वटै स्थानीय तहमा सरकार विरुद्ध पर्दशन र सभा गर्दैछ । सोअनुसार पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७५३ पालिका र माघ ८ गते छ हजार ७४३ वडामा विरोध प्रदर्शन एवं सभाको आयोजना गरिने पार्टी कार्यालयले जनाएको छ ।
साथै कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध एउटै निर्णय र प्रष्ट धारणासाथ सिङ्गो पार्टी एकमतका साथ आन्दोलनको मैदानमा रहेको स्पष्ट पारेको छ । प्रतिनिधिसभा विघटन गरेकै दिन पुस ५ गते पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमार्फत पार्टीको धारणा सार्वजनिक, पुस ६ गते सर्वदलीय बैठक आयोजना, पुस ७ गते केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ गरी पुस ९ गते कार्यक्रम घोषणा गरेर पुस १३ गते १६५ सङ्घीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको कांग्रेसले जनाएको छ ।




