काठमाडौं । प्रधानमन्त्री केपी ओली धनगढी पुगेका छन् । उनी केही समयअघि हवाईजहाजबाट धनगढी विमानस्थल ओर्लेर सिधै राष्ट्र बैंकको गेस्ट हाउसमा पुगेका छन् ।
केही समय आराम गरेर ओली आज नेकपाले गर्ने आमसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको स्वागत गर्न धनगढी विमानस्थलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट मात्रै होइन, कुनै पनि मन्त्री विमानस्थल पुगेनन् ।
संसद् विघटन र पार्टी विभाजन भएपछि प्रधानमन्त्री ओली पहिलोपटक प्रदेश भ्रमणमा पुगेका हुन् । प्रधानमन्त्री भ्रमणमा आउँदा पनि प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्री स्वागत गर्न नआएपछि ओली निकै रुष्ट बनेको बताइन्छ ।
सुदूरपश्चिम प्रदेश सरकार पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको कब्जामा छ । ओली निकट कुनै पनि मन्त्री सुदूरपश्चिम प्रदेशमा छैनन् । केही दिनअघि मात्रै झपट बोहराले मन्त्रीबाट राजीनामा दिएपछि ओली गुट प्रदेशमा शू्रन्य भएको हो ।
धनगढीमा हुने आमसभालाई प्रधानमन्त्री ओलीका साथै आपूर्तिमन्त्री लेखराज भट्ट, वनमन्त्री प्रेम आले, श्रममन्त्री गौरिशंकर चौधरीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । तीनजना मन्त्री केही दिनदेखि कैलालीमा अड्डा जमाएर बसेका छन् ।




