राजनीति

सिन्धुपाल्चोकमा नेकपा विभाजनः नेता जति दाहाल–नेपाल समूहमा, कार्यकर्ता अर्कैतिर

बाह्रबिसे । औपचारिक रुपमा फुट्न नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देशैभरि दुई समूहमा विभाजित छ । एउटा समूह प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरिरहेका छन् भने अर्को समूह दाहाल–नेपालमा गोलबद्ध छन् । यतिबेला दुवै समूहबाट हायर फायर चलिरहेका बेला सिन्धुपाल्चोकमा भने विभाजित समूह एकअर्कामा आमचाकरी गालीगलौजमा उत्रेका छन् । जुन सुन्ने धैर्यता सर्वसाधारणले गुमाइसकेका छन् ।

अधिकांश शीर्ष र जिल्ला तहका नेताहरु दाहाल–नेपाल समूह खुलेका छन् भने कार्यकर्ता जति ओली समूहमा समेटिएको वामपन्थी बुद्धिजीवीहरु ठम्याइ छ । सिन्धुपाल्चोकबाट दर्जन बढी नेताहरु केन्द्रीय तहमा छन् । उनीहरु दाहाल–नेपाल समूहमा समेटिएका छन् । सभामुख अग्नि सापकोटा, अमृत बोहोरा, अरुण नेपाल, सुवास कर्माचार्य, रामप्रसाद आचार्य, सुवोध सापकोटा र कृष्णप्रसाद सापकोटालगायतका नेता दाहाल–नेपाल समूहमा छन् । यसमध्ये अग्नि सापकोटा परिवारका तीन दाजुभाइ, युवा संघका संयोजक आचार्य र बागमति प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल पार्टी अध्यक्ष दाहाल निकट हुन् । यस्तै नेकपा अनुशासन समितिका संयोजक बोहोरा, बागमति प्रदेशका पूर्ववनमन्त्री नेपाल, पूर्वसांसद कर्माचार्यलगायतका नेता अर्का अध्यक्ष माधवकुमार नेपालका निकट मानिन्छन् ।

यस्तै जिल्लास्तरीय नेतामा अध्यक्ष दाहाल निकट मानिने नेताहरुमा सरल सहयात्री पौडेल हुन् भने जिल्ला अध्यक्ष झंक नेपाल अर्का अध्यक्ष माधव नेपाल निकटका हुन् ।

पार्टी दुई समूहमा विभाजन हुनुअघिका कुनै पनि केन्द्रीय तहका नेता प्रधानमन्त्री ओली पक्षमा देखिएनन् । विभाजनपछि प्रधानमन्त्री ओलीले चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गरे । युवा तथा खेलकुद मन्त्री बनाइएका दावा तामाङ माओवादीको कोटाबाट केन्द्रीय नेतृत्वमा थिए । ओलीले तामाङलाई आफ्नो पक्षमा तानेर मन्त्री बनाएका हुन् ।

त्यसबाहेक पूर्वसांसद डोल्मा तामाङ, पूर्वजिल्ला अध्यक्ष हस्त पण्डित, जुगल गाउँपालिका अध्यक्ष तथा गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र बालकृष्ण देउजालाई ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये ९ वटामा नेकपाले जितेको छ । त्यसमध्ये ३ वटा नगरपालिका र ६ वटा गाउँपालिका पर्छन् । जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठलाई केन्द्रीय सदस्यमा मनोनित गरेबाहेक नेकपाले जितेको बाँकी स्थानीय तहमा दाहाल–नेपाल समूहको पक्कड छ ।

बाह्रबिसेका नगरप्रमुख नीमफुन्जो शेर्पा, चौतारा साँगोचोकगढी नगरपालिकाका अमानसिंह तामाङ र मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याल दाहाल–नेपाल पक्षका हुन् ।

यसैगरी लिशंखु पाखरका अध्यक्ष कमल नेपाल, बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री, पाँचपोखरी थाङ्पालधापका अध्यक्ष टासी शेर्पा र त्रिपुरा सुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठ दाहाल–नेपाल समूहमा खुलेर लागेका छन् ।

सरफेसमा हेर्दा केन्द्रीयको जमघट दाहाल–नेपाल पक्षमा देखिए पनि कार्यकर्ता तहमा ओली पक्षको पक्कड रहेको वामपन्थी विश्लेषकहरु बताउँछन् । सत्ताको प्रभाव, सूर्य चुनाव चिह्न ओली पक्षले नै लिने पूर्वानुमानका आधारमा कार्यकर्ताले ओली समूहलाई समर्थन गरेको उनीहरुको भनाइ छ ।

राजनीतिक दलमा नेताहरु एकातिर र कार्यकर्ता अर्को पक्षमा उभिनु जति घातक मानिन्छ, त्यत्ति नै गम्भीर प्रभाव संगठनमा पर्छ । नेता र कार्यकर्ता विभाजित भएको अवस्थामा बलियो प्रतिपक्षी दल नेपाली कांग्रेसले बुद्धि पु¥याए फाइदा उठाउन सक्ने विश्लेषण गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *