काठमाडौं । केपी ओली सरकारले संसद विघटन गरेर तोकेको निर्वाचन विवादित बनेर सर्वोच्च अदालतमा पुगेका बेला निर्वाचन आयोगले आफ्नो तयारी युद्धस्तरमा अघि बढाएको छ । आयोगले जिल्लास्तरमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य सुरु गरेर तयारी थालेको संकेत गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले यही पुस २३ गतेदेखि कार्य सुरु गर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
आयोगबाट “मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७” र सोको कार्यान्वयनको लागि “मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनसम्बन्धी कार्यक्रम, २०७७” स्वीकृत भएसँगै मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य सुरु हुन लागेको प्रवक्ता श्रेष्ठले बताए ।
समितिले आगामी माघ १७ गतेसम्ममा कार्य सम्पन्न गर्ने गरी आयोगले कार्यतालिका समेत स्वीकृत गरेको छ । सबै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज एवम् सरोकारवालाहरूबाट मतदान केन्द्र पुनरावलोकन कार्यक्रममा आवश्यक सहयोगका लागि आयोगले अपिलसमेत गरेको छ ।




