समाचार

काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्याधिक, घर बाहिर ननिस्कन आग्रह

काठमाडौं । सोमबारदेखि देशभरको मौसममा बदली भएसँगै काठमाडौंमा वायु प्रदूषणको स्तरले खतराको तह पार गरेको छ । मौसममा आएको बदलावसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढेको छ ।

सोमबार खतराको तह नै पार गरेको काठमाडौँको वायु प्रदूषण मङ्गलवार पनि अत्यधिक रहेको वातावरण विभागले जनाएको छ । बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको पाइएकोले यसबाट स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै सजग रहन विभागले अपिल गरेको छ ।

विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु प्रदुषणबारे अध्ययन गर्ने आइक्यु एयर डटकमका अनुसार सोमबार बेलुकी काठमाडौंको वायु प्रदूषण विश्वकै पहिलो नम्बरमा पुगेको थियो । सोमबार काठमाडौंको एअर क्वालिटी इन्डेक्स अर्थात एक्यूआई ४८७ पुगेको थियो । मंगलबार पनि वायु प्रदूषण अर्थात एक्यूआई ३१५ को हाराहारीमा छ ।

सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३ सयभन्दा बढी भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिन्छ । काठमाडौंको आकाश ढाकेको आँखा पोल्ने तुवाँलो मंगलबार पनि पूर्णरुपमा हटिसकेको छैन ।

आद्रतायुक्त वायुको गति कम हुँदा प्रदूषण बढेको वातावरणविदहरुले बताएका छन् । पश्चिमी वायुको प्रभाव सक्रिय रुपमा भएर पानी परेमा अहिले भएको प्रदूषण कम हुने उनीहरुको भनाइ छ ।

बिहीबारबाट मात्रै मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायु प्रदुषणले फोक्सोमा असर पुग्ने भएकाले घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन चिकित्सकले सुझाव दिएका छन् ।

अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन उनीहरुको सुझाव छ । वायु प्रदूषणले फोक्सोका साथै आँखा र छालालाई समेत असर गर्ने हुँदा जोगिएर हिँड्न चिकित्सकले सुझाव दिएका हुन् ।

चिसोमा निमोनिया र कोरोना संक्रमणका कारण फोक्सोका विरामी बढिरहेका बेला देखिएको उच्चस्तरको बायु प्रदूषणले थप असर गराउनसक्ने उनीहरुको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *