काठमाडौं । अभिनेत्री मनिषा कोइराला नेपाली राजनीतिमा प्रवेश गर्ने चर्चा बेलाबेलामा चल्ने गर्छ । उनी आफैंले भने यो विषयमा केही बोलेकी छैनन् ।
नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनीसमेत रहेकी मनिषाको परिवार कांग्रेसी नै हो । उनका बाबु प्रकाश कोइराला कांग्रेसबाट सांसदमा समेत निर्वाचित भएका थिए । तर, लामो समयदेखि प्रकाश कांग्रेसको राजनीतिमा सक्रिय छैनन् । उनका भाइ डा.शशांक कोइराला र श्रीहर्ष कोइराला कांग्रेसमै छन् । शशांक त कांग्रेसका महामन्त्री पनि हुन् । अहिले तिनै प्रकाश सुपुत्री मनिषाले छुट्टै राजनीतिक दल खोल्ने चर्चा चलेको छ ।
लामो समयदेखि मनिषा बलिउड फिल्म इन्डस्ट्री छाडेर नेपालमै बस्दै आएकी छन् । उनी यहाँ सामाजिक कार्यमा संलग्न हुने गरेकी छन् । तिनै अभिनेत्री मनिषा कोइराला र नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेल पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने अभियानमा लागेका छन् । हरेक वर्ष पुस २७ गते राष्ट्रियस्तरमै पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने गरिएको भए पनि २०६२-०६३ को आन्दोलनपछि नागरिकस्तरमा मनाउँदै आइएको छ । यही पेरिफेरिमा पुस २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन अभिनेत्री मनिषा र ‘हाम्रो नेपाल र सुशासन अभियान’का अभियान्ता पूर्वडिआइजी खरेलले तयारी थालेका छन् ।
आज उनीहरुले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । नेपाल राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको योगदान महत्वपूर्ण रहेकाले उनको सम्मानमा पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउनुपर्ने उनीहरुको धारणा छ । यसैलाई धेरैले मनिषा कोइराला अब राजनीतिमा प्रवेश गर्न खोजेको त होइन भनेर धेरैले अनुमान गरेका हुन् । मनिषाको परिवार राजनीतिक भए पनि उनी भने अहिलेसम्म राजनीतिमा सामेल भएकी छैनन् । उनलाई कांग्रेसबाटै राजनीति गर्न धेरै सुझाव र दबाब पनि आएको छ ।
मनिषाका भाइ सिद्धार्थ कोइराला भने कांग्रेसको राजनीतिमा सक्रिय हुन थालिसकेका छन् । यदि मनिषाले कांग्रेसबाट राजनीति गरिन् भने उनले बीपी कोइरालाको विरासत बोक्ने आमकांग्रेसीजनको बुझाई छ ।




