रिबन

नयाँ स्वरुपको कोरोनाका कारण बेलायतमा फेरि देशव्यापी लकडाउन घोषणा

एजेन्सी । बेलायतमा फेरि देशव्यापी लकडाउनको घोषणा गरिएको छ । कोरोना भाइरसको नयाँ स्वरुप तीव्र रुपमा फैलिएपछि मंगलबार लकडाउन घोषणा गरिएको हो। सरकारको यो निर्णय भएसँगै स्कटल्यान्ड, वेल्स र नर्दन आयरल्यान्डसमेत सिंगो बेलायत लकडाउनमा गएको छ।

सोमबार बेलुका टेलिभिजन सम्बोधनमार्फत बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन घोषणा गरेका हुन्। बेलायतमा देशव्यापी लकडाउन गरिएको यो तेस्रोपटक हो।

पहिलो चरणमा गत वर्षको मार्च २३ बाट सुरु लकडाउन ३ महिनाभन्दा लामो समय कायम राखिएको थियो। दोस्रो चरणमा नोभेम्बर ५ देखि ४ हप्ते लकडाउन गरिएको थियो। डिसेम्बर २ मा दोस्रो लकडाउन खुलाइएसँगै संक्रमणको आधारमा क्षेत्रगत प्रतिबन्धहरु लगाइएको थियो।

नयाँ लकडाउन घोषणाका क्रममा प्रधानमन्त्री जोन्सनले अत्यावश्यक क्षेत्रमा कार्यरत ‘कि वर्कर’ र निर्माण क्षेत्रमा कार्यरत कामदारबाहेक अरु सबैलाई घरबाटै काम गर्न आव्हान गरेका छन्।
खाद्यान्न र औषधि किन्न, दिनमा एकपटक शारीरिक व्यायाम गर्न, जोखिममा रहेका मानिसको सहयोग गर्न, उपचार वा कोभिड परीक्षण गर्नबाहेकका अवस्थामा घर नछोड्न प्रधानमन्त्रीले आग्रह गरेका छन्। मंगलबारदेखि नै स्कुल, कलेजहरु बन्द गरी सबै कक्षा अनलाइनमा सीमित गरिने भएको छ।

नयाँ स्वरुपको भाइरसको संक्रमण ५० देखि ७० प्रतिशतका तीव्र संक्रमण फैलिरहँदा बेलायतमा सोमबार लगातार सातौं दिन ५० हजारभन्दा बढी संक्रमित थपिएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *