काठमाडौं । नेकपा विभाजनको बाछिटा प्रदेशमा पनि देखापरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई संसदीय दलको नेताबाट हटाएको भोलिपल्टै नेकपाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई दलको नेताबाट हटाएको छ । राईको ठाउँमा भीम आचार्य चयन भएका छन् ।
नेकपा प्रचण्ड–माधव समूहले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको हो । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको सो समूहले आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो ।
प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । बुधबारको बैठकमा भने ३६ जना उपस्थित थिए । प्रदेश १ को प्रदेश सभा बैठक माघ ७ गतेका लागि बोलाइएको छ । सो दिन अविश्वास प्रस्तावमाथि कारबाही हुनेछ । तर, त्यसअघि नै प्रदेश विघटन हुने प्रबल सम्भावना रहेको बताइन्छ ।




