समाचार

आज ४५ औं मेलमिलाप दिवस : कांग्रेसले देशभर महत्वका साथ मनाउँदै

काठमाडाैं । नेपाली कांग्रेसले आज देशभर ४५ औं मेलमिलाप दिवस मनाउदै छ । नेपाली कांग्रेस पार्टी र भ्रातृ तथा सुभेच्छुक संस्थाहरुले मेलमिलाप दिवसलाई महत्वका साथ मनाउदै आएका छन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज विहान साढे ९ बजे नेपाली कांग्रेसको फेसबुक पेजमार्फत सम्वोधन गर्ने कार्यक्रम रहेको छ । जिल्लाको निमन्त्रणामा केन्द्रीय नेताहरु पनि मेलमिलाप दिवसको कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लामा पुगेका छन ।

पुस १० गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पुस १६ गते ७७ वटै जिल्लामा मेलमिलप दिवसको कार्यक्रम गर्ने निर्णय गरेको थियो । आठ वर्षको भारत निर्वसनपछि नेपाली कांग्रेसका संस्थापक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला स्वदेश फर्केको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमलिाप दिवसका रुपमा मनाउँदै आएको छ ।

वीपीले भन्नु भएको छ ‘हामीले प्रजातन्त्रको कुरा मात्र गर्यौं र प्रजातन्त्रको संघर्षको कुरा मात्र गर्यौं भने राष्ट्रियता र राष्ट्रलाई बचाउने हाम्रो अर्को जवाफदेहीतालाई छोडेजस्तो हुन्छ । र, हामी कुनै बाहिरका तत्वबाट सञ्चालित भएका हुने छौं । साथसाथै हामीले केवल राष्ट्रियताको कुरा मात्र गर्यौ र प्रजातन्त्रलाई छोडिदियौं भने हामीले अहिलेसम्म राष्ट्रवादी भनिएकाहरुको खोक्रो नारा र तानाशाहीलाई समर्थन गरेजस्तो हुन्छ । तसर्थ हामी दुइवटै कुरालाई संगसंगै लिएर जानुपर्छ । हामीले दुईवटै संघर्षलाई साथसाथै लिएर गएनौ भने हामीहरु तानाशाही दलाल हुनेछौं वा कुनै विदेशी तत्वको दलाल हुनेछौं । हामीले राष्ट्रियता र प्रजातन्त्र दुवैको रक्षाको हिमायती हुनुपदर्छ ।’

२०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार र संसद्लाई ‘कु’ गरी राजनीतिक बन्दी बनाइएका वीपी कोइराला, गणेशमान सिंह लगायतका प्रभावशाली नेताहरु २०२५ सालमा जेलबाट रिहा भएपछि भारतमा निर्वासित भएका थिए ।

२०३३ पुस १६ गते नेताद्वय बीपी र गणेशमान विना सर्त निर्वासनबाट स्वदेश फर्केका थिए । उहाँहरुको साथमा शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाई र निलाम्बर पन्थी पनि स्वदेश फर्केका थिए । बीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिका जीवित साक्षी यतिबेला छैनन । सबै दिवंगत भइसकेका छन ।

वीपी कोइरालाले अंगिकार गर्नुभएको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक भएको कांग्रेसले मात्र होइन विपक्षी राजनीतिक दलहरुले समेत भन्दै आएका छन । तत्कलिन परिस्थितभन्दा राजनीतिक व्यवस्था र पात्र परिवर्तन भएपनि राष्ट्रियता र प्रजातन्त्रमाथिको खतरा भने उस्तै छ ।

कांग्रेसले मेलमिलाप दिवसको कार्यक्रम पश्चात केन्द्रीय कार्यसमितिको बैठक पौष १९ गते पुनः बोलाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *