लामो प्रवास कालपछि हामी स्वदेश फर्कदै छौं । यस अवसरमा एक दुई शब्द देशवासीहरु नाममा सम्बोधन गर्नु उचित ठान्दछु।
हाम्रो देश आज राष्ट्रिय संकटमा छ।यता, केही वर्षदेखि यने सङ्कट चुलिँदै गएको कुरा सबैले महसुस गरेकै हो । यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ । यस तथ्यलाई अरुले पनि स्वीकार गरेका छन् । महाराजधिराज लगायत सबैले बखत बखतमा राष्ट्रिय अस्तित्व माथि परेको खतराको चर्चा गरेका छन् । यो गम्भीर वास्तविकतालाई बुझेर हामी स्वदेश फर्कदै छौं । हाम्रो विचारमा अस्तित्वको संकट आई पर्नुको मुख्य कारण राष्ट्रिय एकताको अभाव हो । जसले गर्दा हाम्रो देश बिदेशी तत्वहरु कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय द्वन्दको अखडा बनाउन सफल हुन थालेका छन् । सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट मात्र हुने अभियानबाट मात्र राष्ट्रिय एकता स्थापित हुन्छ । यसको सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ । राष्ट्रिय एकता कोरा नाराले मात्र हुने भए बितेका १३ वर्षम्म राष्ट्रियता यसरी छिन्न भिन्न भएर देशले यस्ताे सोचनीय स्थितिमा देशले पुग्नुपर्ने थिएन ।आज देशमा स्वार्थपरयणता, साम्प्रदायिकता,व्यक्तिवादी मनोवृत्ति र विदेश पट्टि आमुख हुने प्रवृत्ति बोलबाला छ । यस्तो परिस्थितिमा सबभन्दा पहिले राष्ट्रियताको हत्याहुन्छ।
हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो । त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियाैँ। आज यसमा एउटा नयाँ आयाम थपिएको छ । नेपाली कांग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ। त्यो दोस्रो जिम्मेवारी देशको अस्तित्वको रक्षा गर्ने हाे । हामीले वर्तमान नेपालको पहिलो दुई मुख देखेका छौं ।
“राष्ट्रियता र प्रजातन्त्र”भन्नुको तात्पर्य के हो भने प्रजातन्त्र प्राप्ति र राष्ट्रको रक्षा दुई जिम्मेवारी नेपालीले लिनुपरेको छ । हामीले यि मध्ये एउटामात्र जिम्मेवारीकाे कुरा गर्यै भने हामी एकपक्षिय भएर गलत बाटाेतर्फ लागेका हुनेछाैं । त्यस्तै, हामीले प्रजातन्त्र प्राप्तिमा मात्र जोड दियाै भने राष्ट्रिय संकटको निवारणमा हाम्रो योगदान रहँदैन । त्यतिमात्र होइन,यस्तो एकपक्षीय कार्यले हामी बिदेशीहरुकाे चालमा पर्ने अवस्थामा पनि रहन्छाैं । त्यस्तै हामीले केवल राष्ट्रियताको मात्र चर्चा गरौं भने १६ वर्षदेखि चल्दै आएकाे खोक्रो राष्ट्रियताको नारामा लाग्छौं र अधिनायकवादको पक्षधर हुन पुग्छौ । यस्तो खोक्रो राष्ट्रियताले देशवासीमा राष्ट्रको रक्षा गर्ने आन्तरिक मनोबल पैदा गर्न सक्दैन । त्यसो हुनाले हामीले राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुनसक्छ, प्रजातन्त्र र विकास वा उन्नति एकअर्कामा आधारित तत्व हुन् भन्ने कुरा पनि बुझ्नु परेकाे छ ।
नेपाली कांग्रेसले आफ्नो जन्म कालदेखिनै बेलाबेलामा देश हितका लागि ऐतिहासिक र गम्भीर निर्णय लिएकाे सबैलाई थाहा छ । २००७ सालमा क्रान्ति निर्णय र त्यसको कार्यान्वयन, त्यसपछि आम चुनावकाे सदाको लागि महत्व रहने कुरालाई दृष्टिगत गरेर चुनाव गराउने राष्ट्रिय अभियानको नेतृत्व पनि यसैले लियाे । त्यस आन्दोलनमा धेरै अरु दलहरूको सहयोग पनि हामीलाई प्राप्त भएको थियो । २०१७ सालमा प्रजातन्त्र उपरको निर्मम एवं साङ्घातिक प्रहार पछि नेपाली कांग्रेसले प्रजातन्त्रको पक्षमा संघर्ष गर्यो । र, आज हामीले देशका उपरको खतरा बुझेर नेपाली कांग्रेसको परम्पराको अनुरूप याे अर्काे ऐतिहासिक निर्णय लिएका छाैं ।
प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ जब यसका बासिन्दाले आफ्नो ज्यान समेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ । हामीलाई लाग्छ आज नेपालमा त्यो घडी आएको छ । हाम्रा शुभचिन्तकहरूले हामी नेपाल फर्किने खतरालाई ध्यानमा राखेर नफर्किने सल्लाह दिएकोमा उनीहरुलाई हामी भन्दछाैं- हामीमाथिकाे सम्भावित व्यक्तिगत खतरा राष्ट्रको अस्तित्व खतराको सामु नागण्य भन्ठानेर नै हामिले ऐतिहासिक निर्णयका लिएका हौं । नेपाली कांग्रेसका कार्यकर्ताहरुले पनि पार्टी निर्देशनअनुसार देश फर्केर अपूर्व सहास र देशप्रेमको उदाहरण प्रस्तुत गरेका छन्।
यस राष्ट्रिय संकटको घडीमा हामी सबैले वितेका अप्रिय विवाद र अनुभव र मतभिन्नतालाई बिर्सेर,समाप्त गरेर एकताको सूत्रमा बाँधिनु पर्छ । हाम्राे कार्यक्रम ‘राष्ट्र रहेन भने हामी रहन्नौ” भन्ने भावनाले प्रेरित हुनुपर्छ । मलाई थाहा छैन देशभित्र फर्केर गएपछि म कुन परिस्थितिमा हुनेछु । यस वक्तव्यद्वारा नेपाली कांग्रेसको अध्यक्ष हैसियतले सारा देशबासीलाई अपील गर्नचाहन्छु कि राष्ट्रको रक्षा , देशको उन्नति , जनताको सुख र समृद्धिको पुनित कार्यमा हामी सबै एकमत भएर लागौं । मैले अवसर पाएँको खण्डमा महाराजधिराजका समक्ष पनि आफूलाई लागेका कुरा राख्नेछु । राष्ट्रलाई बचाउने जिम्मेवारी सबैको साझा जिम्मेवारी हो ।

जय नेपाल !
विश्वेश्वरप्रसाद कोईराला
पुस १६,२०३३




