काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले संविधानअनुसार नै संसद विघटन गरेकाले अब पुनस्र्थापना हुन नसक्ने बताएका छन् ।
आफू पक्षका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलामा ओलीले संविधानअनुसार विघटित प्रतिनिधिसभा पुनस्स्थापना नहुने बताएका हुन् । आफू बहुमतको दलको नेता भएर संसद विघटनको सिफारिस गरेको र राष्ट्रपतिले विघटन गरेकाले अब पुनस् स्थापना नहुने बताए ।
नेकपाको अर्को पक्ष पुष्पकमल दाहा र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनः स्थापनाका लागि सडक आन्दोलन घोषणा गरेको सन्दर्भमा ओलीले भने, ‘संविधानअनुसार विघटन भएको संसद पुनस्स्थापना हुँदैन।’
संविधानको धारा ७६ अनुसार ६४ प्रतिशत बहुमत भएको दलको नेताले सिफारिस गरेकाले संसद विघटन भएको हो । ३४ प्रतिशतमा विकल्प छैन त्यसैले संसद पुनस्स्थापना हुँदैन,’ उनले थपे, ‘संविधानको धारा ८५ मा यसअघि विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको म्याद ५ वर्षको हुनेछ भनिएको छ । त्यसैले विघटन भएको संसद पुनस्स्थापना हुन सक्दैन ।’
अब नेपालमा गणतन्त्र, लोकतन्त्र र संविधानलगायतका उपलब्धि खतरामा नपर्ने ओलीको भनाइ थियो । उनले अहिले मुलुकमा राजतन्त्र नभएकाले यी उपलब्धिमाथि खतरा नभएको बताए ।
प्रधानमन्त्री ओलीले समयको डुंगामा दाहाल-नेपाल खेमा पछि परेको आरोप लगाएका छन्। उनले भने, ‘डुंगा अगाडि बढ्न उहाँहरूले दिनुभएन। चाहनु भएन। डुंगा तानिरहनुभयो। तर डुंगा अगाडि बढ्यो। उहाँहरू छुट्नुभयो।’
डुंगालाई पछि तान्ने कामबाट अर्को खेमा थाकेको आरोप पनि उनले लगाए। यस्तै हिजोको अर्को खेमाको प्रदर्शन महिलाको अपमानमा पनि केन्द्रित रहेको उनले आरोप लगाए। योसँगै प्रधानमन्त्री ओलीले अर्को खेमाले पदका लागि मात्रै हारगुहार गरेको आरोप लगाए।




