पत्रपत्रिकाबाट

ओली नसच्चिए आन्दोलनको आँधी

आजका पत्रपत्रिकाहरु मंगलबार नेकपा दाहाल नेपाल समूहले काठमाडौंमा गरेको प्रदर्शनबारेका समाचारले भरिएका छन् । प्रधानमन्त्रीको सिफरिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि नेकपा लगाएत सबै राजनितिक दलहरु विरोधमा उत्रिकएका छन्।

आजको नागरिक दैनिकले ओली प्रवृतिविरुद्ध दाहाल नेपाल समूहको खबरदारी, नसच्चिए आन्दोलनको आँधी शिर्षकमा समाचार छापेको छ । समाचारमा भनिएको छ, विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरूले संविधानको मर्म र भावनाविपरीत प्रधानमन्त्री ओलीले तत्कालीन राजा ज्ञानेन्द्रकै शैलीमा प्रतिगामी कदम चालेको भन्दै प्रतिनिधिसभा विघटनको कदम नसच्याए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका छन्। प्रतिगामी कदम सच्याएरै छाड्ने ठोकुवा गर्दै दाहाल–नेपाल पक्षले त्यसका लागि तयार रहन ओलीलाई चुनौती दिएको छ। ‘जेजे गर्न सक्छौं गर, हामी अन्तिम समयसम्म पनि छाड्दैनौं,’ काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले भने, ‘वैशाखपछि ओली प्रधानमन्त्री पनि रहँदैनन्। नेपालको राजनीतिक इतिहासबाट तिनको पत्तासाफ हुनेबाला छ।

यो समाचारलाई राजधानी दैनिकले पनि छापेको छ । त्यस्तै देशको अर्थतन्त्र पुरानै लयमा फर्केको खबर पनि राजधानीमा छ । बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह गत वर्षको सोही अवधिमा भन्दा वृद्धि हुन थालेको छ । कोभिड–१९ ले धराशायी भइरहेको वर्तमान अवस्थामा कर्जाको माग बढ्नुु अर्थतन्त्र पुरानै लयमा फर्कन लागेको संकेत हो । यद्यपि अहिले कर्जा प्रवाह अनुत्पादक क्षेत्रमा भएको देखिएको छ ।

गत वर्षको तुलनामा चालू आवको पाँच महिनामा २ खर्ब ३७ अर्ब कर्जा लगानी वृद्धि भएको छ । गत वर्षको यो अवधिमा पनि अघिल्लो वर्षको तुलनामा कर्जा लगानी २ खर्ब १५ अर्बले बढेको थियो । गत असार मसान्तमा वाणिज्य बैंकहरूको कर्जा लगानी २९ खर्ब ३ अर्ब थियो । चालू आवको १० पुससम्ममा कर्जा लगानी ३१ खर्ब ४० अर्ब पुगेको छ ।

आजको अन्नपूर्ण दैनिकले पनि नेकपा दाहाल नेपाल समूहकै शक्तिप्रर्दशनबारेका समाचारलाई प्राथमिकता दिएर पहिलो पृष्ठमा छापेको छ । पहिलो चरणको संघर्षका कार्यक्रमअन्तर्गत दाहाल–नेपाल समूहले मंगलबार काठमाडौंसहित देशका ७७ वटै जिल्ला सदरमुकाममा शक्ति प्रदर्शन गरेको छ। उक्त समूहले उपत्यका र आसपासका जिल्लाबाट हजारौंको उपस्थिति गराएर काठमाडौं भृकुटीमण्डपमा विरोधसभा गरे ।

कान्तिपुर दैनिकले चिनियाँ टोलीले नेपालका कम्युनिष्ट पार्टीलाई दिएको तीन सन्देशबारे समाचार लेखेको छ । नेपालको भ्रमणमा आएको चिनियाँ विशेष टोलीले राजनीतिक अस्थिरता रोक्न, विभाजित नेकपालाई मिलेर अघि बढ्न र यहाँको राजनीतिक वातावरणले चीनमा पर्न सक्ने सुरक्षा खतराबारे सजग रहन आग्रहसहितका तीनवटा सन्देश सत्तारुढ र विपक्षी दलका नेताहरुलाई दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *