आजको पत्रपत्रिकामा सोमबार नेपाली कांग्रेसले गरेको देशव्यापी विरोध प्रर्दशनबारे तस्वीरसहितका समाचारहरु प्रकाशित छन् भने नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको सक्रिय राजनितिक भेटघाटबारे पनि पहिलो पृष्ठमा समाचारहरु प्रकाशित छन् ।
नागरिक दैनिकले विभाजित नेकपा मिलाउन चिनियाँको दौडधुप शिर्षकमा फ्रन्ट पेजमा समाचार छ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओको टोलीले विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई जोड्ने प्रयास गरेको छ। चारदिने नेपाल भ्रमणमा आएको सो टोलीले नेकपा शीर्ष नेताहरूलाई भेटेर पार्टी विभाजन हुन नदिन मिलनबिन्दुबारे खोजीनीति गर्दै पुनः एकताको प्रयास थालेको हो।
यो समाचारलाई अन्नपूर्ण पोस्ट्ले चीनको चिन्तामिश्रित प्रश्नः ‘नेकपा मिल्ने बिन्दु छैन ?’ शिर्षकमा छापेको छ । नेकपालाई मिलाउन आएका चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि टोलीले नेकपा मल्निे बिन्दुबारे खोजी गरेका छन् । जसरी पनि उनीहरु नेकपालाई मिलाउन चाहन्छन् । राष्ट्रपतिदेखि नेकपाका नेतासामु टोलीको नम्र जिज्ञासा छ, ‘नेकपा किन फुट्यो रु यसको फेरि मिल्ने विन्दु छ कि छैन ? प्रतिनिधिसभा विघटन अब के हुन्छ ? यहि समाचारको एंगललाई राजधानी दैनिकले नेकपा एकताको कसरतमा चीन शिर्षकमा छापेको छ ।
त्यसै गरी सोमबार भएको कांग्रेसको विरोध प्रदर्शनबारे पनि आजका पत्रपत्रिकामा खबर छ । नागरिक दैनिकले लेख्छः फेरि तात्न थाल्यो सडक। पछिल्लो राजनीतिक घटनाक्रमपछि उपत्यकाको सडक तात्न थालेको छ । संसद् विघटन भएसँगै विभिन्न राजनीतिक मुद्दा बोकेर प्रतिपक्ष मात्र नभएर सत्तापक्षसमेत सडकमा उत्रन थालेपछि सडकमा सरगर्मी बढेको हो ।
मन्त्रिपरिषद् विस्तार रोक्न सर्वोच्चमा रिट परेको खबरलाई अन्नपूर्ण पोस्ट्ले पहिलो पृष्ठमा छापेको छ ।
त्यसैगरी उखु किसान र सरकारबीच सहमति भएको खबरलाई पनि पहिलो पृष्ठमा स्थान दिइएको छ ।
गोरखापत्र दैनिक लेख्छः उखु किसानको आन्दोलन स्थगित, तीन साताभित्र वक्यौता भुत्तानी हुने । लामो समयदेखि माइतीघर–बानेश्वर सडकमा आन्दोलनरत उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । सहमतिसँगै उखु किसानको आन्दोलन स्थगित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको वार्तामा सरकारले तीन साताभित्र उखु किसानको सबै बक्यौता भुक्तानी रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित भएको हो ।




