काठमाडौं । नेकपामा देखिएको विवादले प्रदेशमा पनि ठूलै तरंग सिर्जना गरेको छ । नेकपाको प्रचण्ड माधव नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेको छ ।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई मंगलबार पदमुक्त गरेका हुन् । भट्ट प्रचण्ड समूहका मुख्यमन्त्री हुन् । प्रधानमन्त्री ओली समूहमा रहेका बोहरालाई पार्टी विभाजनपछि प्रचण्ड–नेपाल पक्षका मुख्यमन्त्री भट्टले पदमुक्त गरेको हो ।
बोहरा डडेल्धुराबाट तत्कालीन एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । सात सदस्यीय मन्त्रीमण्डल रहेको यो प्रदेशमा बोहराले मात्र केपी ओलीलाई समर्थन गर्दै आएका थिए । बोहरा बर्खास्त भएपछि ओली समूह प्रदेश सरकारमा शून्य बनेको छ ।




