काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ विशेष टोलीको उद्देश्य राजनीतिक विश्वास र व्यवहारिक सहयोग प्रवद्र्धन गर्नु रहेको चिनियाँ विदेश मन्त्रालयले स्पष्ट पारेको छ । कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) केन्द्रीय समिति अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीसहितको टोली चार दिने भ्रमणका लागि हिजो नेपाल आएको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओले भने, चिनियाँ टोलीको नेपाल भ्रमणको उद्देश्य दुई देशबीचको परम्परागत मित्रतालाई मजबुत बनाउनु नै हो । आपसी साझा चासोका सवालहरू महामारी रोकथाम तथा नियन्त्रणका, सुशासन र सहकार्य तथा विकासजस्ता विषयमा विचार आदानप्रदान गर्नका लागि चिनियाँ टोलीले नेपालको भ्रमण गरेको हो ।’
चीन र नेपाल असल छिमेकी, सच्चा साथी र राम्रा साझेदार हो, चाओले भने, चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका मुख्य पार्टीहरूसँग घनिष्टता कायम राखेर मैत्रीपूर्ण आदानप्रदान गरिरहेको छ । यो सम्बन्धले आपसी राजनीतिक विश्वास बढाउन, सरकार–सरकारबीचको मित्रतालाई गहन पार्न, सरकारहरूबीच व्यावहारिक सहयोग प्रवर्द्धन गर्न र दुई देशबीचको परम्परागत मित्रतालाई मजबुत बनाउन सघाएको छ ।’
‘नेपाली राजनीतिक दलहरूसँग नेपाल चीन रणनीतिक तथा सहकार्यमूलक साझेदारीमा केन्द्रित विकास निर्माणका सवालमा दुवै देशका जनताको फाइदाका लागि काम गर्न इच्छुक रहेको’ प्रवक्ता चाओले बताए ।




